चितवनमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई मिलेर मात्रै निर्वाचनमा चितवनका जेनजी समूहले जान दबाब दिएका छन्।
शुक्रबार मात्रै अदालतमा धरौटी बुझाएर रिहा भएका लामिछाने कार्यकर्तालाई सम्बोधन गर्न र घिसिङ उज्यालो नेपाल पार्टीको कार्यक्रममा सहभागी हुन चितवन आइपुगेका थिए।
चितवनका जेन–जी प्रतिनिधिहरूले उनीहरू बसेकै होटलमा पुगेर दबाब दिएका हुन्।
‘हामीले दुबै नेताहरूलाई भेटेर तपाईंहरू मिल्नुस् भन्यौं। तपाईंहरू मिल्नुभयो भने जेन–जीको पनि साथ रहन्छ। मिल्नुभएन भने साथ दिन सकिँदैन भनेर प्रष्टसँग भन्यौं,’ जेन–जी समूह चितवनका सदस्य सचिन चापागाईंले सेतोपाटीसँग भने, ‘वैकल्पिक शक्तिहरू सबैलाई सँगै लैजाने वातावरण बनाउनुपर्यो भनेका छौं।’
जबाफमा लामिछाने र घिसिङले आफूहरू पनि त्यसैमा लागेको जबाफ दिएको चापागाईंले बताए।
‘कुलमानजीले निर्वाचन आयोगमा दर्ता गर्ने समय घर्किसकेका कारण बाध्यताले पार्टी दर्ता गरिएको भन्नुभएको छ। उहाँहरू दुबै जनाले हाम्रो कुरा ध्यानपूर्वक सुन्नुभयो। अनि यसका लागि प्रयास चलिरहेको बताउनुभयो।’
लामिछानेले शनिबार भरतपुरमा कार्यकर्तालाई गरेको सम्बोधनमा पनि जेन–जी पुस्ता र परिवर्तन चाहने शक्तिहरू मिलेर जाने उद्घोष गरेका थिए।