राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबाट छुट्टिएर गएका सुमना श्रेष्ठ, सन्तोष परियारलाई शुभकामना दिएका छन्।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि धुनाबाट धरौटीमा रिहा भएपछि कार्यभार सम्हाल्न पार्टी कार्यालय गएका लामिछानेले पार्टीबाट अलग्गिएका नेताहरूको सम्झना गरेका हुन्।
‘यो यात्राको क्रममा थुप्रै कारणले जुनसुकै कारणले छुट्टिएर जानु भए पनि म शुभकामना अभिव्यक्त गर्न चाहन्छु। हामीले धेरै केही गर्न सकेनौं। तपाईंहरूले हाम्रो लागि धेरै गुण लगाएर जानुभएको छ। म तपाईंहरूको ऋणी रहनेछु,’ उनले भने।
उनले यात्राका क्रममा पार्टीले सबै साथीभाइहरूलाई समेट्न नसकेको भन्दै रास्वपालाई योगदान दिने सबैलाई स्मरण गरे।
‘म धन्यवाद दिइरहनेछु। हामीले धेरै केही गरेनौं, उहाँहरूले धेरै गरेर जानुभएको छ। उहाँहरूले हामीलाई धेरै सिकाएर जानुभएको छ। हामीलाई धेरै उपलब्धीमा साथ दिनुभएको छ। हामीले केही गर्न नसके पनि उहाँहरूले दिनु भएको योगदान त मनमा छ नि,’ उनले भने।