मिराज ढुंगाना नेतृत्वको जेनजी समूह 'गरिखान देऊ' ले आज सोमबार माइतीघर मण्डलमा आयोजना गरेको प्रदर्शन स्थगित गरेको छ।
उनीहरूले सोमबार बिहान ११ बजेदेखि माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका थिए।
यसबीच प्रहरीले हस्तक्षेप गरेको र केही साथीहरूलाई पक्राउ गरेर लगेको भन्दै आजको कार्यक्रम स्थगित गरिएको आयोजक समूहका सदस्य प्रकाश शर्माले जानकारी दिए।
उनका अनुसार यो प्रदर्शन मंगलबार बिहान ११ बजे माइतीघर मण्डलमा फेरि आयोजना गरिनेछ।
'गरिखान देऊ' ले विभिन्न ७ वटा माग राखेर प्रदर्शन गरेको हो। प्रदर्शनमा ढुंगानासमेत सहभागी थिए।
यो समूहले अहिलेसम्मका सबै भ्रष्टाचार प्रकरण छानबिन गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गर्नुपर्ने, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्नुपर्ने, जेनजी विद्रोहलाई तत्काल राजनीतिक आन्दोलन घोषणा गर्नुपर्ने, सहिद परिवार र घाइतेको उचित व्यवस्थापन गर्नुपर्ने, भदौ २३ र २४ गते भएका घटनाको दोषीलाई कारबाही गर्नुपर्ने र प्रदेश सरकार पुनर्संरचना गर्नुपर्ने माग राखेको छ।
प्रदर्शनका लागि युवाहरू माइतीघर पुगेपछि त्यहाँ तैनाथ प्रहरीले अनुमति नभएकाहरूलाई प्रदर्शन नगर्न आग्रह गर्दै माइकिङ गरेको थियो।