सिंहदरबारमा आज प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा निर्वाचन आयोग, दलहरू र जेनजीका प्रतिनिधिसहित सरोकारवालाहरूबीच छलफल भएको छ।
उक्त छलफलमा नेकपा एमालेका सचिव महेश बस्नेत पनि सहभागी थिए।
सचिव बस्नेतले फागुन २१ गते प्रतिनिधिसभा चुनाव नभएको खण्डमा के हुन्छ भनेर प्रधानमन्त्रीलाई लक्ष्य गर्दै प्रश्न गरेका छन्।
‘अब फागुन २१ मा चुनाव भएन र सर्यो भने संसद पुनःस्थापना हुन्छ कि के हुन्छ? ६ महिनाभन्दा बढी ग्याप त हामीले देखेका छैनौं। अहिले लोकतान्त्रिक पद्धति मिचेर भटाभट अध्यादेश ल्याइरहनुभएको छ,’ सचिव बस्नेतले प्रधानमन्त्रीलाई भने।
उनले निर्वाचन भयरहित र निष्पक्ष हुनुपर्ने बताए।
दलका नेतामाथि अहिले पनि स्थानहद लगाइएको भन्दै उनले विरोध गरे।
‘म नै हुँ–५/७ जिल्ला जाँदा ढुंगा खाएर आएको मान्छे। हामीले ढुंगा खाएबापत खुशीयाली मनाएकै छ। त्यसकारण चुनाव २१ गते हुन्छ भन्ने कुरामा हामी विश्वस्त छैनौं,’ उनले भने।