सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री जगदीश खरेलले नेकपा एमाले पनि चुनावका लागि तयार भएको बताएका छन्।
च्यासलस्थित एमाले केन्द्रीय कार्यालयको आज अवलोकनपछि बोल्दै मन्त्री खरेलले भने, ‘नेकपा एमालेसँगको भेटघाट चाहीँ चुनावउन्मुख भएको र चुनावको लागि एमाले पनि तयार भएको र सरकारले पनि वातावरण बनाउने कुरामा त्यही रुपमा तयारी अगाडी बढाएको हिसाबले अब मुलुक चुनावमा होमियो र चुनावमा अगाडी बढ्यो।’
एमाले तर्फबाट चुनाव वातावरण बनाउन आग्रह आएको उल्लेख गर्दै उनले निर्वाचनको लागि स्वतन्त्र भयरहित र धाँदलीरहित ढंगबाट निर्वाचन गर्ने वातावरण सरकारले मिलाउने बताए।
उनले नेताहरूलाई स्थानहद तोकिएको विषयमा आयोग र सरकार पनि लचक हुन सक्ने बताए।
‘जहाँसम्म स्थानहदका कुरा छन्। नेतृत्वको सन्दर्भमा अथवा विभिन्न नेताको सन्दर्भमा स्थानहदको सन्दर्भमा त एकातिर आयोगले काम गरिरहेको छ, अर्कोतिर सरकारले पनि त्यो काम गरिरहेको भएर यहाँहरुलाई हामी के भन्न चाहन्छौं भने चुनाव हाम्रो महायज्ञ हो, महोत्सव हो। सुशासन अर्को महत्त्वपूर्ण प्राथमिकता हो। भ्रष्टाचार नियन्त्रण गर्ने कुरा यो सरकारले म्याण्डेड लिएको छ भनेदेखि यी बाँकी कुराको सन्दर्भमा यी महत्त्वपूर्ण कुरालाई आत्मसाथ गर्दै कहाँ कहाँ सरकार लचक हुनसक्छ, यी ठाउँमा सरकारको आफ्नो अधिकार क्षेत्र र जिम्मेवारी, सरकारको जहाँ छ, जे गर्नसक्छ, त्यो भन्ने अवस्थामा सरकारको तर्फवाट सबै प्रकारको वातावरण बनाउन सरकारले काम गर्छ,’ उनले भने।
- न्युज एजेन्सी नेपाल