नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले अन्तरिम सरकारसँगको १० बुँदे सम्झौता पक्षधर जेनजीहरूले नै निर्वाचन हुन नदिने घोषणा गरेको भन्दै निर्वाचन हुनेमा आशंका रहेको बताएका छन्।
मंगलबार नेपाली कांग्रेसको पार्टी कार्यालय निरीक्षण एवं वार्ताका लागि सानेपा पुगेको सरकारद्वारा गठित राजनीतिक वार्ता समितिसँगको छलफलमा उनले यस्तो टिप्पणी गरेका हुन्।
जेनजी अगुवा सुदन गुरूङले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा निर्वाचन हुन नदिने भनेको उल्लेख गर्दै यसले सरकार निर्वाचन गराउन लागि परेको भन्नेमा आशंका उब्जाएको बताए।
निषेधको राजनीति गरेर र निषेधको भावनाबाट निर्वाचन हुन नसक्ने उनको भनाइ छ।
सरकार निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढंगबाट सम्पन्न गर्नतर्फ नलागेको आरोप लगाए।
पुराना वा नयाँ पार्टीको नाममा कुनै पनि पार्टीलाई यात्रामा रोकेर निर्वाचन सम्पन्न हुन नसक्ने जिकिर गरे।
उनले कोही पनि मतदाताको मताधिकार नखोसियोस् भन्नेमा कांग्रेस दृढ रहेको बताए।
उनले भने, ‘कसैले कसैलाई निषेधको राजनीति गरेर, निषेधको भावनाबाट अग्रसर भएर निर्वाचन सुसम्पन्न हुन सक्दैन। कुनै प्रश्न नउठ्ने ढंगबाट नेपाल सरकार अघि बढ्नुपर्छ। कुनै कुना कन्तरामा आशंका उब्जिने गरी अघि बढ्न भएन। सबै मिलेर गए निर्वाचन सम्पन्न हुन्छ। पुराना वा नयाँ पार्टीको नाममा कुनै पनि पार्टीलाई यात्रामा रोकेर निर्वाचन सम्पन्न हुँदैन। हामी विध्वंश र मतपत्र च्याताच्यात भएको देख्न चाहँदैनौं। हामी प्रजातन्त्र र लोकतन्त्रवादी हौं। कसैको मताधिकार नखोसियोस्। मत हाल्ने अधिकारबाट बञ्चित नहोस्। अन्तरजिल्ला मतदानको कुरा छ, विदेशमा रहेकाहरूको मतदानको कुरा छ। चर्चाका लागि मात्रै कुरा नगरौं। निर्वाचन फागुन २१ मा हुँदैछ भनिएको छ, यसलाई अर्जुनदृष्टिमा राख्नुपर्छ। सबै राजनीतिक दलहरू उपस्थित हुने र सहभागी बन्ने स्थिति सिर्जना गर्नुपर्छ। १० बुँदे सम्झौता गर्नेहरूले नै सम्झौताको मसी सुक्न नपाउँदै निर्वाचन हुन दिँदैनौं भनिरहेका छन्।’
उनले अघि भने, ‘सम्झौता त यहाँहरूकै अघि च्यातिएको छ। के भइरहेको छ। नच्यात्ने पक्षले चुनाव हुन दिन्नौं भनिसके। त्यसप्रति कतिको गम्भीर हुनुहुन्छ, हामी ध्यानपूर्वक हेरिरहेका छौं। यहाँहरूको प्रधानमन्त्रीले जसलाई जेठो छोरो भन्नुभयो, त्यही जेठो छोरोले चुनाव हुन दिन्नौं भनेपछि हामीले के भन्नु? हाम्रो के लाग्छ। केही न केही त छ। आशंका झन् बलियो बनायो।’
उपसभापति गुरूङले नेपाली कांग्रेस निर्वाचनबाट नभाग्ने बताए।
उनले सरकारले निर्वाचनको वातावरण निर्माण गर्न अझै नसकेको जिकिर गरे।
उनले निर्वाचनका लागि शान्ति सुरक्षा पहिलो सर्त रहेको उल्लेख गर्दै सरकारले भयमुक्त वातावरण बनाउन नसकेको बताए। –न्युज एजेन्सी नेपाल