अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच आइतबार फ्लोरिडामा भेटवार्ता भएको छ।
रूस-युक्रेन युद्ध अन्त्य गर्नका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लगातार प्रयासका बाबजुद पनि सुखद नतिजा निस्किएको छैन।
दुवै देशका अधिकारीहरूले घनिभूत छलफल गरी तयार पारेको शान्ति योजनाको मस्यौदामाथि निर्णायक छलफल गर्नका लागि जेलेन्स्की फ्लोरिडा पुगेका थिए।
फ्लोरिडाको मार-ए-लागो रिसोर्टमा आइतबार दुई राष्ट्रपतिबीच झन्डै तीन घन्टा कुराकानी भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। यद्यपि ठोस सहमति भने जुट्न नसकेको सिएनएनले जनाएको छ।
राष्ट्रपति ट्रम्पले जेलेन्स्कीसँग वार्ता गर्नुअघि र वार्तापछि पुटिनसँग टेलिफोन संवाद गरेका थिए।
ट्रम्प र जेलेन्स्की दुवैले वार्तापश्चात पत्रकारहरूलाई त्यसको प्रगतिबारे ब्रिफिङ गरेका थिए।
जसमा दुवैको सम्बोधनमा शान्ति योजनामा ब्रेकथ्रु भएको गुन्जायस नदेखिएको भनेर सिएनएनले लेखेको छ।
जेलेन्स्कीले शान्ति योजनाका झन्डै ९० प्रतिशत बुँदामा सहमति जुटेको दाबी गरे पनि ट्रम्पले प्रतिशतमा भनेनन्। बरू उनले सहमतिको अत्यन्त नजिक रहेको बताएका छन्।
सबैभन्दा जटिल र प्रमुख विषय जमिनको नियन्त्रणरेखाबारे भने अझै टुंगो लागेको छैन।
रूसले पूर्वी डोनबास क्षेत्र आफ्नो नियन्त्रणमा हुनुपर्ने दाबी गरेको छ। यद्यपि उसले पूरै डोनबास कब्जा गरेको छैन।
युक्रेनले भने आफ्नो भूमि कुनै पनि हालतमा रूसलाई सुम्पिन नसक्ने बताउँदै आएको छ। दुवैले अडान नछाडेपछि ट्रम्पले डोनबास क्षेत्रलाई स्वतन्त्र आर्थिक क्षेत्र बनाउने प्रस्ताव राखेका छन्।
त्यसबारे रूस केही सकारात्मक छ। युक्रेनले भने जमिनको निर्णयका लागि जनमत संग्रह गर्नुपर्ने भनेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले अमेरिका र युक्रेनका उच्च अधिकारीहरूले व्यापक छलफल गरेर तयार पारेको शान्ति योजनामा समेटिएका विषय सार्वजनिक गरेको छ।
यस्तो छ योजनाको २० बुँदा—
१. युक्रेनको सार्वभौमसत्तालाई स्वीकार गरिने।
२. रुस र युक्रेनबीच आक्रमण नगर्ने सम्झौता र सीमानामा ड्रोनबाट कडा निगरानी।
३. युक्रेनलाई भविष्यको सुरक्षाका लागि बलियो ग्यारेन्टी दिइने।
४. युक्रेनी सेनाको संख्या ८ लाखमै कायम रहने।
५. अमेरिका र नेटोले युक्रेनलाई 'सामूहिक रक्षा' (आर्टिकल-५ ) सरहको सुरक्षा दिने।
६. रुसले युक्रेनमाथि कहिल्यै आक्रमण नगर्ने कुरा आफ्नो संसदबाटै कानुन पास गर्ने।
७. युक्रेनलाई निश्चित मितिमा युरोपेली संघ (ईयू) को सदस्यता दिइने।
८. युक्रेनको विकासका लागि ठूलो आर्थिक प्याकेज ल्याइने।
९. पुनर्निर्माणका लागि ८०० अर्ब डलरको कोष बनाइने।
१०. अमेरिकासँग युक्रेनको स्वतन्त्र व्यापार सम्झौता हुने।
११. युक्रेन परमाणु हतियार नभएको देशको रूपमा रहने।
१२. जापोरिज्जिया परमाणु केन्द्रको व्यवस्थापन अमेरिका र युक्रेन (वा रुससहित) ले मिलेर गर्ने।
१३. दुवै देशका विद्यालयमा एकअर्काको संस्कृति र धर्मप्रति सम्मान सिकाउने।
१४. विवादित भूमिमा हालकै युद्ध रेखामा लडाइँ रोक्ने वा निशस्त्रीकरण क्षेत्र बनाउने।
१५. भूमि सम्बन्धी सम्झौता भएपछि त्यसलाई बल प्रयोग गरेर बदल्न नपाइने।
१६. 'ड्निप्रो' नदी र 'कालो सागर' मा युक्रेनलाई व्यापारका लागि रोक नलगाइने।
१७. सबै युद्धबन्दी र कब्जा गरिएका बालबालिका तथा नागरिकहरूको फिर्ता।
१८. शान्ति सम्झौता लगत्तै युक्रेनमा चुनाव गराइने।
१९. राष्ट्रपति ट्रम्पको अध्यक्षतामा रहेको 'शान्ति परिषद्' ले सम्झौता पालनाको अनुगमन गर्ने।
२०. सबै बुँदामा सहमति भएलगत्तै तुरुन्तै युद्धविराम लागू हुने।