नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले सहमहामन्त्री पदमा डिला संग्रौला पन्तलाई निर्वाचित गरेको छ। कांग्रेसमा डिलासहित ८ जना सहमहामन्त्री विशेष महाधिवेशनबाट निर्वाचित भएका हुन्।
महाधिवेशन गरेर मात्र आमचुनावमा जानुपर्ने पक्षमा डिलासहित सभापति शेरबहादुर देउवा पक्षका ३० केन्द्रीय सदस्य थिए। ती अधिकांश विशेष महाधिवेशनमा सहभागी भए भने कतिपय विभिन्न पदमा पनि छन्। त्यसमध्ये डिला एक हुन्।
डिलाको राजनीतिक पृष्ठभूमि नेविसंघ र नेपाल महिला संघसँग जोडिन्छ।
उनी दाङको घोराहीस्थित टेरौटेमा २०२० सालमा जन्मेकी हुन्। विवाहपछि उनी विराटनगरमा बस्न थालिन्।
कक्षा ९ पढ्दै गर्दा २०३६ सालमा उनी बिपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य लगायत नेताहरूका भाषण सुन्न दाङ पुगेकी थिइन्। बहुदलको आमसभामा पुगेका नेताहरूलाई स्वागत गर्नेमध्ये त्यस बेला डिला पनि थिइन्।
उनी क्याम्पस पढ्दै गर्दा नेविसंघमा सक्रिय रूपमा लागेकी थिइन्। त्यसैले पनि नेपाली कांग्रेसको आदर्श र सिद्धान्तलाई नजिकबाट बुझ्न उनलाई सजिलो भयो।
उनले २०६७ सालको नेपाली कांग्रेसको १२औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिए पनि पराजित भएकी थिइन्।
डिला २०६८ माघ २१ गते नेपाल महिला संघ केन्द्रीय तदर्थ समितिको अध्यक्षमा मनोनीत भएकी थिइन्। उनलाई नेपाल महिला संघको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पार्टीले दिएको थियो।
यसबीच २०७२ सालमा भएको १३औं महाधिवेशनमा उनी लोकप्रिय मतसहित केन्द्रीय सदस्य जितेकी थिइन्।
डिलाले महिला संघलाई चुस्त र दुरूस्त बनाउँदै, साधारण र क्रियाशील सदस्य व्यापक संख्यामा वितरण गरी गाउँ-नगर, क्षेत्र, जिल्ला हुँदै तेस्रो राष्ट्रिय महाधिवेशन २०७३ मा सम्पन्न गरेकी थिइन्।
डिला महिला हकअधिकारका क्षेत्रमा जनचेतना फैलाउने काममा पनि सक्रिय थिइन्।
२०७४ सालमा भएको निर्वाचनबाट उनी समानुपातिकतर्फ सांसद भइन्। तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता हुँदै सरकार बनाएका बेला कांग्रेस प्रतिपक्षमा थियो। त्यस बेला छाया सरकारमा रहेर पनि डिलाले सरकारलाई ध्यानाकर्षण गराउने काम गरिन्।
२०७८ मा भएको १४औं महाधिवेशनमा डिला पुन: केन्द्रीय सदस्य बनिन्। उनले 'नेपालका सपना अधुरै' पुस्तक पनि प्रकाशित गरेकी छन्।
उनै डिला अहिले विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेकी हुन्। पछिल्लो समय उनी पार्टी रूपान्तरण र पुस्तान्तरणको पक्षमा उभिएकी छन्।
यी पनि पढ्नुहोस्: