महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी मुद्दा अभियोगपत्रबाट हटाउन स्वीकृति दिने निर्णय गरेपछि यसबारे धेरैको चासो बढेको छ।
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गर्न कानुनले नमिल्ने भएपछि अभियोगपत्र संशोधन गरेर रविलाई लागेका दुई मुद्दा हटाउन महान्यायाधिवक्ताले स्वीकृति दिएको भन्दै यो विषय विवादित भएको छ।
लामिछानेलाई सम्पत्ति शुद्धीकरण मुद्दा कसरी लागेको थियो भन्ने चासो पनि छ।
पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम कानुनविपरीत जिबी राई र रवि लामिछाने सञ्चालक रहेको गोर्खा मिडियामा ल्याएका प्रमाण भेटिएपछि उनीहरूलाई सहकारी ठगीको आरोप लागेको थियो।
प्रहरीले अनुसन्धान गर्दा आफू सदस्यसमेत नरहेको सूर्यदर्शन सहकारीबाट रविले १ करोड रूपैयाँ ऋण लिएको देखियो।
जिबीले पनि सूर्यदर्शनबाट ऋण लिएर रविलाई पठाएको अनुसन्धानमा देखिएको थियो।
यसरी सहकारी ठगी गरी (अपराधबाट) कमाएको पैसा विभिन्न व्यक्तिमार्फत गोर्खा मिडियाको बैंक खातामा पुर्याएको र गोर्खा मिडियाको खाताबाट पनि अरू कम्पनीमा सारेर सम्पत्ति शुद्धीकरण गरेको आरोप सरकारी वकिल कार्यालय कास्कीले लामिछानेमाथि लगाएको हो।
कुनै अपराधबाट कमाएको पैसा वैध बनाउन कम्पनी, उद्योग, घरजग्गा लगायतमा लगानी गर्ने कामलाई सम्पत्ति शुद्धीकरण भनिन्छ। नेपालको कानुनले सम्पत्ति शुद्धीकरण गर्नुलाई गम्भीर अपराध मानेको छ।
२०८१ पुस ७ गते कास्की जिल्ला अदालतमा दायर मुद्दामा लामिछानेले २७ करोड ८९ लाख ४४ हजार रूपैयाँ बराबर सम्पत्ति शुद्धीकरण गरेको उल्लेख छ।
सूर्यदर्शन सहकारीबाट बचत अपचलन गरी गोर्खा मिडियामा आएको ६७ करोड ८७ लाख रकममध्ये रविले सञ्चालकका रूपमा २६ करोड रूपैयाँ रकमान्तर गरी शुद्धीकरण गरेको सरकारी वकिल कार्यालयको दाबी हो।
'प्रतिवादी रवि लामिछाने सेयरहोल्डर तथा प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्क प्रालिमा … सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड समेतबाट … बचतकर्ताको अपचलन भएको रकम तथा कसुरबाट आर्जित ६७ करोड ८७ लाख ७० हजार २२० निक्षेप भएको,' अभियोगपत्रमा भनिएको छ, 'सोमध्ये प्रतिवादी रवि लामिछाने सेयरहोल्डरका रूपमा रहेको अवधिमा २६ करोड १४ लाख ४४ हजार ७०५ रकमान्तर भई आएको…।'
'विभिन्न सहकारीको अपचलन गरी प्राप्त हुन आएको सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, छल्ने अधिकार र स्वामित्व परिवर्तन गर्ने, कसुरबाट प्राप्त सम्पत्तिको सही प्रकृति, स्वरूप र स्रोत छल्ने एवं बदल्ने र सम्पत्तिको गैरकानुनी स्रोत र सोबाट प्राप्त सम्पत्तिको बीचमा दूरी कायम गर्ने समेतका कार्य गरी उक्त कम्पनीका बैंक खाताहरूमा गरी गराई प्राप्त हुन आएको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत प्रयोग तथा रकमान्तर समेत गरी सम्पत्ति शुद्धीकरण कसुर गरेको सप्रमाण पुष्टि हुन आयो,' रविविरूद्धको अभियोगपत्रमा उल्लेख छ।
गोर्खा मिडिया नेटवर्कको निक्षेप ९३ करोड ३५ लाख थियो, जसमध्ये ६७ करोड ८७ लाख रूपैयाँ सूर्यदर्शन सहकारीबाट गएको अभियोगपत्रमा उल्लेख छ। त्यही रकममा २६ करोड भने रविले हस्ताक्षर गरी अरू कम्पनी तथा व्यक्तिहरूलाई पठाएको अभियोगपत्रमा उल्लेख छ।
अभियोगपत्र अनुसार गोर्खा मिडियाबाट भुक्तानी भएका चेकहरूको विवरण विश्लेषण गर्दा १२३७ वटा चेकबाट ५९ करोड ४९ लाख ४४ हजार ९५५ रूपैयाँ भुक्तानी भएको थियो। त्यसमध्ये ८१४ चेकबाट ४८ करोड ५८ लाख २२ हजार २४६ रूपैयाँ बराबरको भुक्तानी रवि लामिछानेको एकल हस्ताक्षरित चेकबाट भएको थियो।
रवि र जिबीले संयुक्त रूपमा हस्ताक्षर गरेका ६ वटा चेकबाट ६० लाख १९ हजार रूपैयाँ बराबरको भुक्तानी भएको थियो।
रकम शुद्धीकरणका लागि गोर्खा मिडियामा आएका रकमलाई मिडियासँग असम्बन्धित कम्पनि नेचर हर्ब, नेचर नेस्ट लगायतमा रकमान्तर तथा 'लेयरिङ' गरेको अभियोगमा दाबी छ।
त्यस्तै, सूर्यदर्शन सहकारीबाट रविले २०७७ असारदेखि एक वर्षका लागि लिएको १ करोड ऋणलाई पनि सम्पत्ति शुद्धीकरण गरिएको उसको दाबी छ।
त्यो ऋण तिर्न रविले गोर्खा मिडियाको आइएमई खाताको चेकमा सञ्चालकको हैसियतले आफैले हस्ताक्षर गरेर मासिक रूपमा कहिले १ लाख त कहिले २ लाख रूपैयाँ पठाएको प्रमाण उल्लेख गरिएको छ।
रवि र जिबीले एकअर्कालाई बैंक खातामा पठाएको ७५ लाखलाई पनि सम्पत्ति शुद्धीकरण गर्ने उद्देश्य मानिएको छ।
सूर्यदर्शन बचत तथा ऋण सहकारीका नाममा मेगा बैंकको खाताबाट जिबी राईको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा दुई करोड रूपैयाँ जम्मा भएको थियो। यही दुई करोडमध्ये ७५ लाख रूपैयाँ जिबी २०७७ माघ ८ गते रविको ग्लोबल आइएमई बैंकको खातामा पठाएका थिए। त्यसपछि माघ ९ गते रविले उक्त रकम गोर्खा मिडियाको ग्लोबल आइएमई खातामा पठाएको देखिन्छ।
यसरी रविले ७५ लाख जिबीबाट र सूर्यदर्शनबाट सोझै व्यक्तिगत रूपमा लिएको १ करोड ऋण र गोर्खा मिडियामा ल्याएको २६ करोड १४ लाख गरी २७ करोड ८९ लाखको सम्पत्ति शुद्धीकरण गरेको अभियोगपत्रमा उल्लेख छ।
प्रहरीले अनुसन्धान गर्न जिबी ग्रुप अफ कम्पनीबाट बरामद भएका दस्तावेजलाई केलाएर यी तथ्य भेटाएको अभियोगपत्रमा उल्लेख छ।
लामिछानेले बयानमा भने आफू सेयरधनी रहे पनि कम्पनीमा आएका रकमबारे आफूलाई थाहा नभएको बताएका थिए।
आफ्नो नाममा भएको १ करोड रकमबारे भने संसदीय समितिमा बयान दिन जाँदा आधिकारिक रूपमा थाहा पाएको रविले सरकारी वकिलसँगको बयानमा बताएका थिए।
'सहकारीबाट रकम लिने कार्यमा म कुनै पनि किसिमबाट संलग्न नरहेको र सहकारीको रकम मैले उपभोगसमेत नगरेको हुँदा सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो रहँदैन। सहकारी संस्थाबाट मैले ऋण लिएको भए ऋण तथा ब्याज तिर्न पत्र तथा ताकेता आउनुपर्ने थियो। गैरकानुनी ढंगबाट ऋण लिइएको मलाई जानकारी छैन,' उनले प्रहरीसँगको बयानमा भनेका छन्।
'मलाई जानकारी भएको खण्डमा यिनीहरूको कर्तुत बाहिर आउने डरसमेत राखी योजनाबद्ध र गोप्य रूपमा गैरकानुनी तरिकाले हिसाब मिलान गरी अर्को वर्षलाई समेत क्यापिटलाइज गरिएको रहेछ,' उनले बयानमा भनेका छन्।
त्यस्तै ७५ लाख रकम भने रविले सम्झौता अनुसार १५ प्रतिशत 'स्वेट' सेयरका रूपमा प्राप्त गरेको बयानमा उल्लेख गरेका छन्।
'गोर्खा मिडियाको नाममा ग्लोबल आइएमई बैंकमा रहेको खातामा २०७७ माघ ८ गते ७५ लाख जम्मा रकम जिबी राईबाट सम्झौता र समझदारी बमोजिम मेरो १५ प्रतिशत स्वेट इक्विटीका लागि लिइएको हो,’ रविको जबाफ छ।
'उक्त रकम छोटो समयमै गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडको बैंक खातामा जम्मा गरेको हुँ,' उनले भनेका छन्।
'कम्पनी ऐन, २०६३ को दफा १८ को उपदफा (२) बमोजिम संस्थापक वा अन्य कुनै व्यक्तिले नगदबाहेक अन्य कुनै किसिमबाट सेयर खरिद गर्ने वा सेयर हक पाउने भए सो कुरा, कम्पनीको कारोबार सुरू हुँदाका बखत संस्थापक वा कुनै व्यक्तिबाट कुनै किसिमसँग कुनै सम्पत्ति प्राप्त गर्ने भए,' उनको बयानमा उल्लेख छ, 'सो कुरा र संस्थापक वा अन्य कुनै व्यक्तिले कम्पनीबाट कुनै विशेष सहुलियत वा अधिकार पाउने भए सो कुरा प्रबन्धपत्रमा उल्लेख गरेको हुनुपर्नेछ भन्ने कानुनमा स्पष्ट व्यवस्था रहेकोमा स्वेट इक्विटी एउटा समझदारीको आधारमा तय गरिएको हो। यस सम्बन्धी कानुनी अस्पष्टता र जटिलताका कारण प्रबन्धपत्र नियमावलीमा उल्लेख नभएको हुन सक्छ।'
बयानमा उनले आफूविरूद्ध अन्यायपूर्ण रूपमा सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएको बताएका थिए।