फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एक महिनादेखि घोषणा पत्र लेखनमा काम गरिरहेको छ।
घोषणा पत्र लेखनका लागि नेकपाले नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय कमिटी बनाएको थियो।
त्यसमा १० वटा कार्यविभाजन गरी नेताहरूलाई जिम्मा दिइएको छ।
राजनीतिक भागको मस्यौदा तयारका लागि प्रमेश हमाल, राजेन्द्रप्रसाद श्रेष्ठ, देव गुरूङ र शक्ति बस्नेतलाई जिम्मेवारी दिइएको थियो।
सुशासन, प्रशासन सुधार र महिला हक हितका लागि पम्फा भूसाल, शिक्षा स्वास्थ्यतर्फ गिरिराजमणि पोखरेल र शक्ति बस्नेत, संघीयता, समावेशीकरण, आदिवासी जनजाति, दलित, मुस्लिम, थारू, र सीमान्तकृत समुदायको हकहितबारे योजना तयार पार्न परशुराम तामाङलाई जिम्मेवारी दिइएको थियो।
त्यस्तै भूमि, किसान र सुकुम्बासीको क्षेत्रमा योजना तयार पार्न बलराम बाँस्कोटा, नहेन्द्र खड्का र डा. भीमा ढुंगानालाई जिम्मेवारी दिएको थियो।
मदुरबारे प्रेमल खनाल र जय कार्कीलाई जिम्मेवारी दिइएको थियो।
उद्योग, पर्यटन र रोजगारीबारे सुवास काफ्ले, परराष्ट्र नीति, डिजिटल नेपाल अभियानबारे युवानाथ लम्साल र विकास ढकाललाई जिम्मेवारी दिइएको छ। महिला र सामाजिक सुरक्षाबारे मस्यौदा लेखनका लागि दुर्गा न्यौपाने भट्टराईलाई जिम्मेवारी तोकिएको छ।
संयोजनको जिम्मेवारी योजना आयोगका पुर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठ र डीपी ढकाललाई दिएको छ।
यसमा पार्टीका नेताहरूसँगै विभिन्न क्षेत्रका काम गरेका व्यक्तिहरू समेटिएका छन्।
ट्रेड युनियनका जानकार, अर्थ, योजना, शिक्षा, प्रशासन, राष्ट्रिय राजनीति र कुटनीति, कृषि, स्वास्थ्य क्षेत्रका विज्ञ तथा जानकारहरू घोषणा पत्र लेखनमा खटिएको कमिटीका सदस्य रहेका नेता जयबहादुर कार्कीले जानकारी दिए
उनकाअनुसार अहिले घोषणा पत्रको मस्यौदा तयार भइसकेको छ। त्यसलाई काँटछाट गरी अन्तिम रूप दिन भने बाँकी छ।
घोषणापत्र लेख्नुअघि नेकपाले स्थानीय तहबाट सुझाव लिएको थियो।
विषयगत जानकारहरूले त्यस क्षेत्रको समस्या र समाधानबारे अन्तर्क्रिया नै गरेको थियो। त्यसबाट प्राप्त सुझावहरू संकलन गरेर घोषणा पत्रको मस्यौदा तयार पार्ने काम सकिएको छ।
चुनावका लागि मनोनयन दर्तापछि भने नेताहरू आफ्नो निर्वाचन क्षेत्रमा खटिएका कारण यसलाई अन्तिम रूप दिन नसकिएको सदस्य कार्कीले जानकारी दिए।
नारायणकाजी श्रेष्ठ सर्लाही ३ बाट उम्मेदवार छन्। शक्ति बस्नेत जाजरकोटमै चुनाव प्रचारमा व्यस्त छन्। अरू नेताहरू पनि अहिले आ-आफ्नो निर्वाचन क्षेत्रमा रहेकाले घोषणा पत्रमा थप काम अगाडि बढेको छैन।
'मस्यौदा तयार भइसकेको छ। अब संक्षितिकरणको काम मात्रै बाँकी छ,' कार्कीले सेतोपाटीसँग भने।
यसपालि नेकपाले ल्याउने घोषणापत्र पहिले पहिले जस्तो लामो नहुने पनि उनले बताए।
साथै तिलस्मी योजनाभन्दा समयसान्दर्भिक र भुइँ टेक्ने घोषणा पत्र ल्याउने तयारी रहेको उनले बताए।
'हामीले यसपालि घोषणा पत्रमा ठुल्ठूला कुरा नगर्ने भनेका छौं। कम्तिमा पाँच वर्षमा सक्ने कामहरू उल्लेख गर्ने र उम्मेदवारहरूले पनि त्यसको अपनत्व लिन सक्नेगरी बनाउने भनिएको छ,' उनले भने, 'सिंगापुर बनाउने, स्वीट्जरल्याण्ड बनाउने भन्ने खालका कुराहरू घोषणा पत्रमा हुने छैनन्। नेपालको मौलिक आधारमा टेकेको समाजवादी आन्दोलन गर्ने भनिएको छ।'
घोषणापत्रले भदौ २३/२४ मा भएको जेनजी आन्दोलनलाई सम्बोधन गर्ने पनि उनले बताए। यसले विशेषगरी भ्रष्टाचार विरूद्धको अभियानलाई निष्कर्षमा पुर्याउने लक्ष्य लिएको छ।
पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' तेस्रो कार्यकाल प्रधानमन्त्री हुँदा थालनी भएको भ्रष्टाचार विरूद्धको अभियानलाई निष्कर्षमा पुर्याउने काम गर्ने गरी योजनाहरू उल्लेख गरिने कार्कीले बताए।
घोषणा पत्रमा रोजगारी वृद्धिलाई पनि विशेष प्राथमिकता दिइने उनले बताए। साथै शिक्षा र स्वास्थ्यलाई सकेसम्म निःशुल्क र कम्तिमा सहुलियतपूर्ण बनाउने योजना घोषणापत्रमा समेटिने छ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले घोषणापत्रलाई अन्तिम रूप दिनेछन्।
'उहाँ पनि बाहिर हुनुहुन्छ। नेतृत्व गरिरहनु भएका नारायणकाजी श्रेष्ठ पनि बाहिर हुनुहुन्छ। उहाँहरू फर्किनुहुन्छ। त्यसपछि यसलाई अन्तिम रूप दिन जुट्छौं,' कार्कीले भने।
यी पनि:
कस्तो बनाउँदैछ एमालेले घोषणा पत्र?
कांग्रेसले कसको नेतृत्वमा कसरी लेख्दैछ घोषणा पत्र?