राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज भेटघाट भएको छ।
जापानको चार दिने भ्रमणमा रहेका राष्ट्रपति पौडेल र जापानका सम्राट नारुहितोबीच इम्पेरियल प्यालेस टोकियोमा शिष्टाचार भेटवार्ता भएको हो।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा हुने विशेष समारोहमा सहभागी हुन सोमबार यहाँ आइपुगेका हुन्।
सोही क्रममा राष्ट्रपति पौडेल र सम्राट नारुहितोबीच भेटवार्ता भएको हो।
सो भेटघाटका अवसरमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा जापानले गरेको सहयोग र खेलेको भूमिकाको उच्च प्रशंसा गरे।
'जापानले नेपाललाई मानव संशाधन, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जगेर्ना लगायतका क्षेत्रमा सहयोग गरिरहेको छ, यसबाट नेपाल र नेपाली अत्यन्त लाभान्वित भएका छन्,' जापानका सम्राट नारुहितोसँग भएको कुराकानीमा राष्ट्रपति पौडेलको भनाइ उद्यृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने।
उनले दुबै देश गौतम बुद्धको शिक्षा र आर्दशबाट प्रेरित रहेको पनि बताए।
'बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल र जापानका जनता बीचको सम्बन्धलाई सुमधुर बनाउन बलियो पुलको काम गरेको छ,' राष्ट्रपति पौडेलले भने।
राष्ट्रपति पौडेललाई गार्ड अफ अनर
राष्ट्रपति रामचन्द्र पौडेललाई आज यहाँ गार्ड अफ अनर प्रदान गरिएको छ।
जापानको चार दिने भ्रमणमा रहेका राष्ट्रपति पौडेललाई जापान सरकारले गार्ड अफ अनर प्रदान गरेको हो।
उनले भ्रमणका क्रममा जापानका सम्राट नारुहितो र प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग आजै शिष्टाचार भेट गरेका थिए।
जापानको चार दिने भ्रमण सकेर राष्ट्रपति पौडेल बुधबार स्वदेश फर्कने कार्यक्रम छ।
