राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार सिफारिस भएका श्री कुँवरले अमेरिकामा सेटल भएर बसेको व्यक्तिलाई बोलाएर धोका दिएको भन्दै पार्टी परित्यागको घोषणा गरेका छन्।
कुँवर रूपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस भएका थिए। रास्वपाले उम्मेदवारका लागि श्री कुँवर सहित ६ जनाको नाम सिफारिस गरेको थियो।
रास्वपा स्थापनादेखि नै अमेरिकामा रहेर सघाएका कुँवरले पार्टीले धोका दिएको भन्दै बिहीबार राजीनामा लेख्दै पार्टी परित्याग गरेको बताएका हुन्।
उनले रास्वपा सभापति रवि लामिछानेलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा पार्टीले अंगीकार गरेको प्राइमरी इलेक्सन नगरी उम्मेदवार बनाएपछि पार्टी छाडेको बताएका छन्।
प्राइमरी इलेक्सन नगरी पार्टीले सो क्षेत्रमा बालेन साहको कोटाबाट उनका सल्लाहकार सुनिल लम्साललाई उम्मेदवार बनाएपछि उनी असन्तुष्ट बनेका थिए।
कुँवरले आफू अमेरिकामा व्यवस्थित रूपमा बसोबास गरेको अवस्थामा रास्वपाका स्थानीय नेताहरूले उम्मेदवार बन्न आग्रह गरेकोले नेपाल आए पनि पार्टीले धोका दिएको बताए।
'म अमेरिकामा सेटल भएर बसिरहेको थिएँ, रास्वपाका क्षेत्रीय सभापति मोहनविक्रम जिसी र नेता प्रेम खत्री लगायतले नेपाल आएर उम्मेदवार बन्न आग्रह गरेकाले प्राइमरी इलेक्सनमा सहभागी भएको थिएँ तर पार्टीले प्राइमरी इलेक्सन नगरी उम्मेदवार चयन गर्यो,' उनले भने।
कुँवरले बिहीबार राजीनामा दिएको भने पनि माघ ६ गते नै उनले बाबुराम भट्टराई नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दर्ता गरेका थिए।
प्रलोपा रूपन्देहीका इन्चार्ज पंकज राईले कुँवरले प्रलोपाबाट रूपन्देही क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएको बताए।