नेपाली कांग्रेसका सभापति गगन थापा पोखरा आइपुगेका छन्।
कांग्रेस गण्डकी प्रदेश कार्य समितिको बैठकमा सहभागी हुन सभापति थापा आज बिहान पोखरा आएका हुन्।
प्रदेश बैठकमा सहभागी भएपछि सभापति थापाले पार्टीका जिल्ला सभापतिहरूसँग छलफल गर्ने कार्यक्रम रहेको कांग्रेस पोखराका क्षेत्रीय सचिव ठाकुर बरालले बताए।
सभापति थापालाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वागत गरेका थिए।
विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएपछि थापा पहिलो पटक पोखरा आएका हुन्।
थापाले फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचन तयारीका सन्दर्भमा पार्टीको अवस्थाका बारेमा जानकारी लिने कांग्रेस कास्कीले जनाएको छ।
गण्डकी प्रदेशका ११ वटा जिल्लामा १८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन्।
पार्टीका नेता तथा कार्यकर्तालाई निर्वाचनमा केन्द्रित हुन र पार्टीको नीति र नेतृत्वमा भएको परिवर्तन मतदाता समक्ष पुर्याउने रणनीति बनाउन बैठक बस्न लागेको कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले बताए।