नेपाली कांग्रेसका सभापति गगन थापाले कुनै पनि प्रकारको हिंसा र उत्तेजनाको राजनीतिबाट देशलाई जोगाउने जिम्मा कांग्रेसले लिने बताएका छन्।
आगो लगाउने र उत्तेजनाको राजनीति जसले पनि गर्न सक्ने भन्दै थापाले देशलाई सम्हाल्ने शक्ति कांग्रेस मात्र भएको दाबी गरे।
कांग्रस कास्कीमा भएको कार्यकर्ता भेटघाटमा बोल्दै सभापति थापाले भदौ २४ को जस्तो घटना हुन नदिने जिम्मा कांग्रेसले लिने बताए।
‘भाद्र २४ गते देश दनदनी बल्यो। अर्को वर्ष जल्दैन भन्ने जिम्मा कांग्रेसले लिन्छ,’ उनले भने, ‘आगो जसले पनि लगाउन सक्छ, निभाउन कांग्रेसले मात्र सक्छ। उत्तेजना जसले पनि फैलाउन सक्छ, सम्हाल्न कांग्रेस नै चाहिन्छ।’
कांग्रेसको चरित्रले नै हिंसा र उत्तेजनाको राजनीति गर्न नसक्ने भन्दै उनले देशलाई सम्हालेर लैजान सक्ने शक्ति कांग्रेस मात्र भएको जिकिर गरे।
कांग्रेसप्रति आम मतदाताको रिस र आवेग रहेको भन्दै त्यसलाई सुन्ने र संवोधन गर्ने गरी आफुहरु रुपान्तरण भएर आएको थापाले बताए। भ्रष्टाचारको मुद्दा अहिले समाजमा सबैभन्दा ठूलो मुद्धा रहेको भन्दै सभापति थापाले घरघरमा पुगेर कांग्रेसले देशलाई भ्रष्टाचारको आहालबाट मुक्त गर्न सक्ने विश्वास दिलाउन कार्यकर्तालाई आह्वान गरे।
‘जसरी हिंसाको आहालबाट देशलाई कांग्रेसले बाहिर निकाल्यो, त्यसरी नै भ्रष्टाचारको आहालबाट बाहिर निकाल्छ भनेर विश्वास दिलाउँछौं,’ उनले भने।
कांग्रेस एक ढिक्का भएर चुनावमा जानुपर्ने भन्दै उनले विगतमा नेता तथा कार्यकर्ता कहाँ उभिए भन्ने कुराले अर्थ नराख्ने बताए। कांग्रेसलाई दु:खका बेला साथ र मत दिएका प्रत्येक व्यक्तिका घरमा गएर उनीहरूका कुरा सुन्न र बदलिएको कांग्रेसले उनीहरूको गुनासो सम्बोधन गर्ने विश्वास दिलाउन पनि उनले निर्देशन दिएका छन्।
‘हिजो मन दुखाएर जानुभएका साथीहरूलाई घर फर्काउनुपर्नेछ,’ उनले भने, ‘दु:ख गरेका साथीहरूलाई खोजी खोजी भेट्न जान्छौं। आशीर्वाद लिन्छौं। उहाँहरू कांग्रेस खोज्दै आउने होइन, हामी उहाँहरूलाई खोज्दै जानुपर्छ।’