प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष मण्डलका सदस्य सन्तोष परियारले लोकप्रियतावादीलाई मतदानमार्फत खारेज गर्न अपिल गरेका छन्।
निर्वाचनका माध्यमबाट तानाशाहको जन्म भएको उदाहरण विश्वमा धेरै भएको भन्दै उनले नेपालमा पनि त्यस्तै अवस्था आउन सक्ने बताएका छन्।
लोकतन्त्र, संविधान र समावेशीता जोगाउन मतदाताले सोच्नुपर्ने बेला आएको उनले बताए।
‘निर्वाचनबाट झन् तानाशाह आएको उदाहरण छन्। सचेत भएनौं भने देश नै विघटन हुन सक्छ,’ उनले भने, ‘यो संविधान बचाउने निर्वाचन हो। लोकतान्त्रिक व्यवस्था बचाउने निर्वाचन हो, यो सामान्य निर्वाचन होइन।’
कतिपय पार्टीले कलाकतारिताबाट लगायत अन्य क्षेत्रमा हासिल गरेका लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै उनले त्यसलाई खारेज गर्न मतदातासमक्ष अपिल गरे।
‘गीत गाएर चर्चामा आएको भरमा तपाईं हाम्रो नेतृत्व गर्छु भनेर आउँछ भने त्यसलाई खारेज गर्नुस्,’ उनले प्रश्न गरे, ‘यो निर्वाचन कसको हो, लोकतन्त्र पक्षधरको कि लोकप्रियतावादीको?’
कतिपय नयाँ पार्टीहरू पुरानाभन्दा पनि गएगुज्रिएको भन्दै समयमै चिन्न सक्नुपर्ने पनि उनले बताए। सबै नयाँ दल राम्रा नहुने भन्दै उनले कतिपय पुराना दल नयाँभन्दा प्रगतिशील रहेको बताए।
पोखरामा शुक्रबार आयोजित उम्मेदवार परिचय कार्यक्रममा बोल्दै अध्यक्ष परियारले जेनजी आन्दोलनले ल्याएको परिवर्तनप्रति आफूले गर्व गरेको बताए। देशलाई अझ बढी लोकतान्त्रिक, अनुशासित र समावेशी बनाउन आम नागरिक सचेत हुनुपर्ने उनको भनाइ छ।
कमजोर समुदायलाई लोकतन्त्र आवश्यक पर्ने भन्दै उनले बलियाहरूले बल पुगेको दिन लोकतन्त्र मास्ने बताए।
‘सबैभन्दा कमजोरलाई चाहिन्छ लोकतन्त्र, बलियालाई चाहिँदैन,’ उनले भने, ‘बलियाले बल पुगेको दिन लोकतन्त्र पनि फालिदिन्छ, संविधान पनि फालिदिन्छ।’
नेपाली कांग्रेस, एमाले, नेकपा लगायतका पुराना दलहरू यथास्थितिवादी भएको आरोप लगाउँदै उनले प्रगतिशील लोकतान्त्रिक पार्टी सबैभन्दा अग्रगामी शक्ति भएको दाबी गरे।
अर्को प्रसंगमा परियारले आफू विश्वविद्यालयमा प्राध्यापन र बृहत् नागरिक आन्दोलनमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फबाट सांसद बनाएको स्मरण गरे।
सांसद बनाउन पार्टी र सभापति रवि लामिछानेले भूमिका खेलेको भन्दै त्यसपछि उनले धन्यवाद व्यक्त गरे। पार्टीको दस्तावेज बनाउन आफूले पनि योगदान दिएको भन्दै परियारले त्यसको पनि स्मरण गर्नुपर्ने बताए।
‘म विश्वविद्यालयमा पढाउँदै गर्दा, बृहत् नागरिक आन्दोलनमा लाग्दा रास्वपा र सभापति रवि लामिछानेले सांसद बनाउनुभयो, यसप्रति म आभारी छु,’ उनले भने, ‘पार्टीको दस्तावेज निर्माण गर्न मैले पनि इमानदारितापूर्वक योगदान दिएको छु, त्यसको पनि स्मरण गरियोस्।’
रास्वपा छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेका परियारले पार्टीका संरक्षक बाबुराम भट्टराई कहीँकतै नलागेको बताए।
गोरखाबाट चुनाव लड्न भट्टराइले आफूसँग सल्लाह गरेको भन्दै भट्टराईले उम्मेदवारी फिर्ता लिए पनि कुनै दललाई समर्थन नदिएको बताए।
‘बाबुराम भट्टराई अहिले पनि हाम्रो पार्टीको संरक्षक हुनुहुन्छ, अहिले उहाँ शोकमा भएकाले प्रचारमा आउनुभएको छैन,’ उनले भने, ‘गोरखामा उहाँले उम्मेदवारी फिर्ता लिए पनि कतै समर्थन गरेका छैनौं, केही दिनपछि चुनावी प्रचारमा हिँड्नुहुन्छ।’
कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट कास्की–१ मा कर्णबहादुर गुरूङ र कास्की– २ मा दीपक भण्डारी उम्मेदवार बनेका छन्।
यस्तै, समानुपातिकतर्फ दुर्गा गुरूङ र महेश्वर सुनार उम्मेदवार छन्। उनीहरूलाई मतदान गरी विजयी गराउन उनले कास्कीका मतदातासँग अपिलसमेत गरे ।