नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विभिन्न प्रविधिको दुरूपयोग गरी समाजमा झुटा सूचना फैलाइएकोप्रति सचेत रहेको बताएका छन्।
शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा उनले पत्रकारहरूलाई सत्य र सही सूचना जनतामाझ पुर्याउन आग्रह गर्दैभ्रमपूर्ण र गलत सूचनाले समाजमा गम्भीर समस्या सिर्जना गरेको बताए।
प्रेस चौतारी रूपेन्देहीले आयोजना गरेको कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि तालिमको उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले भ्रमपूर्ण सूचनालाई रोक्न पत्रकारहरू जिम्मेवार र सचेत हुनुपर्ने बताए।
उनले सामाजिक सञ्जालबाट झुटा र गलत सूचना सम्प्रेषण नगरी सत्य र तथ्यलाई साथ लिएर जनताको मन र मत जित्ने बताए।
'हामीले गलत सूचना र गलत तथ्यको प्रयोग गर्दैनौं, गलत सूचना दिँदैनौं, भएका, गरेका र गर्न सक्ने कामहरू बताउँछौं, हाम्रो इच्छाशक्ति र सङ्कल्प बताउँछौं, जनता र राष्ट्रप्रतिको निष्ठा बताउँछौं', पौडेलले भने।
उनले नेकपा एमाले बुझ्न र पढ्न चाहनेहरूका लागि खुल्ला किताब भएको उल्लेख गर्दै विचार र व्यवहारमा पनि अब्बल र खरो भएर उत्रिने बताए।
उनले विज्ञानलाई सही तरिकाले प्रयोग गर्न सके मानिसले विज्ञानको सहयोग लिएर जीवनलाई धेरै सहज बनाउन सक्ने भए पनि गलत तरिकाले प्रयोग गर्दा समस्यामा पर्ने गरेको बताए।
यस्तै विज्ञानले जतिसुकै प्रगति गरे पनि मान्छे र मान्छेको दिमागलाई भने उछिन्न नसक्ने बताए।