नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको महासंग्राम भएको बताएका छन्।
झापाको दमकमा धिमाल समुदायका अगुवाहरूसँगको भेटघाटमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
उनले यो निर्वाचन केबल प्रतिनिधि छान्ने कुरा मात्र नभई धिमाल जातिको विकासका लागि बजेट राख्ने र भएका बजेट काट्नेहरू बीचको निर्वाचन भएको बताए।
आफू नेतृत्वको सरकारले धिमाल जातिको संग्रहालय, होमस्टे र सडकका लागि छुट्याएको करोडौँको बजेट वर्तमान सरकारले अनधिकृत रूपमा काटेको भन्दै उनले आक्रोश व्यक्त गरे।
वर्तमान सत्ता गठबन्धनले विकास विरोधी काम गरेको आरोप लगाए।
धिमाल समुदायलाई सम्बोधन गर्दै ओलीले भने, ‘यस पल्टको चुनाव देश जलाउने कि बनाउनेहरूको बीचको चुनाव हो। देश बनाउने, बचाउने कि देश जलाउनेका बीचको चुनाव हो। तर यस पल्टको चुनाव यस ठाउँमा मैले भन्नु पर्दा धिमाल जातिका लागि विकासका लागि बजेट राख्ने र बजेट काट्नेहरूका बीचको चुनाव पनि हो यो। भत्काउनेहरूलाई यस पल्ट साथ दिनु हुँदैन, मत दिनु हुँदैन।’
अध्यक्ष ओलीले धिमाल जातिलाई ‘धर्तीपुत्र’ र ‘प्रथम नागरिक’ को संज्ञा दिँदै उनीहरूको पहिचान मेटाउन खोजिएको बताए।
आफू २०२० सालदेखि नै धिमाल समुदायसँग निकट रहेको स्मरण गर्दै ओलीले वि.सं. २०५१ सालमा गृहमन्त्री हुँदा धिमाल जातीय विकास केन्द्रका नाममा संग्रहालय र उद्योग सञ्चालन गर्न १० बिगाहा जमिन भोगाधिकार दिएको तथ्य उल्लेख गरे।
अध्यक्ष ओलीले धिमाल समुदायबाट शिक्षित युवाहरू नेतृत्वमा आउन थालेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा राज्यका विभिन्न निकायमा उनीहरूको उपयुक्त प्रतिनिधित्वका लागि एमालेले विशेष ध्यान दिने समेत बताए।
शिक्षा, स्वास्थ्य र मौलिक पहिचानको संरक्षण नै आफ्नो मुख्य एजेण्डा रहेको भन्दै उनले कसैको भ्रममा नपर्न आग्रह गरे। —न्युज एजेन्सी नेपाल