राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी छाडेकी छन्।
हाल रास्वपाको महिला तथा सामाजिक विकास विभागकी सदस्य समेत रहेकी शर्माले बुधबार विज्ञप्ती जारी गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी गराएकी हुन्।
उनले आगामी फागुन २१ गते हुन लागेको चुनाव सम्बन्धमा पार्टीले अबलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालिन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठीक विपरित भएको भन्दै राजीनामा दिएकी हुन्।
उनले मूलतः आर्थिक अनियमितताबाट पार्टीका निर्णय प्रेरित भएको आरोप पनि लगाएकी छन्।
'संगठनमा दिनरात खटिएका क्षेमतवान घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको , पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मुलत: आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मुल्यहरु माथी आंच आउने परिस्थिति बनेको छ; यी सबै क्रियाकलापहरुको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु,' शर्माले विज्ञप्तीमा भनेकी छन्।
त्यसकारण आजकै मितिदेखि लागू हुने गरी आफूले रास्वपाको साधारण सदस्य समेत नरहने गरी राजीनामा पेस गरेको शर्माले जानकारी दिएकी छन्।