नेकपा (एमाले) विगु गाउँपालिकाका उपाध्यक्ष शेषनारायण श्रेष्ठ सहितको टोली नेपाली कांग्रेस प्रवेश गरेको छ।
विगु गाउँपालिका वडा नं. १ मा आयोजित वडा सभा तथा पार्टी प्रवेश कार्यक्रममा एमाले र विघटित माओवादी परित्याग गरी दर्जनौँ नेता-कार्यकर्ता कांग्रेसमा समाहित भएका हुन्।
एमालेबाट पार्टी छोड्नेहरूमा वडा नं. १ का सचिव चाहाना मगर, उपसचिव सूर्यनारायण श्रेष्ठ, प्रकाश थापा मगर, कुमारी तामाङ, लालमान तामाङ, सीतादेवी श्रेष्ठ र वडा नं. २ की पार्वती जीसी रहेका छन्।
त्यस्तै एमाले पालिका कमिटी सदस्यहरू बिन्दु तामाङ, गाइने ठकुरी, पार्वती ठकुरी र रत्नविक्रम थापा मगर पनि कांग्रेसमा प्रवेश गरेका छन्। यसका साथै माओवादी केन्द्र परित्याग गरी साङछिरी तामाङ, कुमार विक, रन्जिमाया तामाङ, पदममाया तामाङ, काले तामाङ र मन्जु नेपाली पनि कांग्रेसमा गएका छन् ।
पार्टी प्रवेश गर्दै उपाध्यक्ष श्रेष्ठले कांग्रेस बदलिएर आएको र देशलाई कांग्रेस उम्मेदवार अजयबाबु शिवाकोटी जस्तो स्वच्छ एवं भ्रष्टाचार विरोधी उम्मेदवार आवश्यक परेकाले आफूले यो निर्णय लिएको बताए। नवप्रवेशीहरूले कांग्रेसको विकासप्रतिको स्पष्ट भिजन र लोकतन्त्र रक्षाका लागि युवा नेतृत्वको आवश्यकता महसुस गर्दै पार्टी परिवर्तन गरेको उल्लेख गरे।
नवप्रवेशीहरूलाई प्रतिनिधि सभा उम्मेदवार अजयबाबु शिवाकोटी र समानुपातिक उम्मेदवार छिरिङ डोल्मा शेर्पाले खादा लगाएर स्वागत गरेका थिए।