नेपाली कांग्रेसका सभापति गगन थापाले विश्वव्यापी रूपमा बढ्दै गएको पपुलिजमको लहरबाट नेपालको लोकतन्त्रलाई जोगाउन सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन्।
काठमाडौंमा बुधबार बिहान भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले विश्वका परिपक्व लोकतान्त्रिक मुलुकहरू समेत अहिले ‘पपुलिजम’ (लोकप्रियतावाद) को सिकार भइरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।
‘हेर्दाहेर्दै पपुलिजमको एउटा ठूलो लहर आएको छ । यसको आक्रमणबाट नेपालको लोकतन्त्रलाई हामीले जोगाउनसक्छौँ कि सक्दैनौँ भन्ने गम्भीर प्रश्न खडा भएको छ,’ उनले भने।
उनले क्षणिक लोकप्रियताका लागि गरिने राजनीतिले लोकतन्त्रको मर्मलाई कमजोर बनाउनसक्ने भएकाले सचेत रहन आग्रह गरे।
राज्यका संस्थाहरू बलियो नभए राष्ट्र असफल हुनेतर्फ इङ्गित गर्दै सभापति थापाले ‘ह्वाई नेसन्स फेल’ पुस्तकको सन्दर्भ उल्लेख गरे। उनले संस्थाहरू कमजोर भएको अवस्थामा पपुलिजमले अख्तियारी पाएमा त्यसको भार मुलुकले थाम्न नसक्ने बताए।
‘लोकतन्त्रलाई दिगो बनाउन र मुलुकलाई सही दिशामा लैजान बलिया संस्थाहरूको निर्माण अपरिहार्य छ,’ उनले भने। –न्युज एजेन्सी नेपाल