गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन्।
बुधबार निर्वाचनको तयारी सम्बन्धी विषयमा काठमाडौंको निर्वाचन क्षेत्र नम्बर-३, गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमनको क्रममा गृहमन्त्री अर्यालले सो धारणा व्यक्त गरेका हुन्।
नेपाल सरकारको प्रवक्ता समेत रहेका गृहमन्त्री अर्यालले सामाजिक संजालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचना तथा खबरहरूबाट सचेत भई आ-आफ्नो निर्वाचन क्षेत्रको तयारीमा लाग्दै निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन अधिकृतलाई निर्देशन समेत दिए।
गृहमन्त्री अर्यालको साथमा गृहसचिव राजकुमार श्रेष्ठ, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल, काठमाडौँ प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा, गृह मन्त्रालयकी सह-प्रवक्ता रमा आचार्य, गृहमन्त्रीको सचिवालय सदस्य तथा काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराई, निर्वाचन अधिकृत चमिला भट्टराई लगायतका टोली स्थलगत निरीक्षणका लागि आज त्यस तर्फ पुगेका थिए।।
गृहमन्त्री अर्याल सहितको टोलीले गोकर्णेश्वर माविमा रहेको एउटा मतदान केन्द्र, श्री ओख्रेनी मावि, सुन्दरीजल मतदान केन्द्र र काठमाडौँ निर्वाचन क्षेत्र नम्बर-५ टोखामा रहेको सरस्वती माविको मतदान केन्द्रको स्थलगत निरीक्षण गरेका थिए।