नेपाली कांग्रेसका सभापति गगन थापाले २०८२ देखि पाँच वर्ष कांग्रेसका लागि काम गर्ने समय रहेको बताएका छन्।
बिहीबार सुर्खेतमा आयोजित चुनावी सभामा बोल्दै सभापति थापाले पाँच वर्ष कांग्रेस नसुस्ताउने बताएका हुन्। कांग्रेस नेतृत्वको पाँच वर्षसम्मको सरकारमा भ्रष्टाचार भएको भन्ने कुरा जनताले सुन्न नपर्ने उनले बताए।
त्यति मात्रै होइन २०४६ देखिका भ्रष्टाचार प्रकरणहरूको छानबिन गर्न आयोग गठन गर्ने र आयोगले गर्ने गरेको सिफारिस कार्यान्वयन गर्न बताएका हुन्।
'मेरै परिवारका कोही सदस्य परेका छन् भने पनि कारबाही गर्छु। यो कांग्रेस सभापतिको हैसियतले भनेको कुरा हो,' उनले भने।
आगामी पाँच वर्षका लागि कुन दलको एजेन्डा के छ भन्ने विषयमा बहस गर्न आफ तयार रहेको पनि उनले बताए।
'आओस् नेकपा एमाले, आओस नेपाली कम्युनिस्ट पार्टी, आओस् राष्ट्रिय स्वतन्त्र पार्टी। एउटै मञ्चमा उभिऔं। पाँच वर्ष नेपालका निम्ति हाम्रो सोँच केहो, संकल्प के हो, हाम्रो योजना के हो यसको बारेमा छलफल गरौं भन्दाखेरि भट्टिमा बसेर एक अर्कामाथि गाली गरेर बसेका छन्,' उनले भने।
अहिले देश पहिलेकाले बिगारेको भन्दिए पुग्ने पनि गगन थापाको भनाइ छ।
'एउटा कुरा भन्दिए पुग्यो यो देश एउटाले बिगारिदियो। म आउँछु म सम्हाल्छु। हिजो केही माओवादीले कर्णालीमा मान्छे मारिरहेको बेलामा नक्कली शरणार्थीको कागज बनाएर बाहिर गएर मस्ती मारिरहेकाहरू आज हाम्रो बीचमा घुमेर पाँच वर्षमा चटक गर्छु भन्दा कम्तिमा कर्णालीले नपत्याओस्,' उनले भने।