नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले एक्लै देश बनाउँछु भनेर कुद्नेहरूले देश बनाउन नसक्ने बताएका छन्।
कुनै एउटा व्यक्ति आएर मुलुकमा चमत्कार नहुने भन्दै मुलुक बनाउनका लागि सिस्टम बनाउनुपर्ने उनले बताए।
नेपाली कांग्रेसले बुटवलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले लोकतन्त्रमा कुनै पनि मानिसलाई देउता र राक्षस बनाउने परिपाटी नै मुलुकका लागि घातक रहेको बताए।
‘लोकतन्त्रमा कुनै पनि एक व्यक्ति रातारात देउता वा राक्षस हुन सक्दैन र कुनै एक व्यक्तिले मात्र पनि मुलुक बनाउने होइन, मुलुक बनाउने टिमले हो र नेपाली कांग्रेस टिमसहित आएको छ,’ थापाले भने।
सभापति थापाले प्रधानमन्त्री मात्र होइन नेपाली कांग्रेस एक्लैले पनि मुलुक बनाउन नसक्ने बताए।
‘सिस्टममा नचलेका कतिपय कुराहरूलाई सिस्टममा चलाउन संविधान संशोधन गर्नुपर्ने हुन्छ त्यसका लागि नेपाली कांग्रेस वा अर्को कुनै एउटा मात्र दलले पुग्दैन सबैको सहमति र सहकार्य आवश्यक पर्छ, म एक्लैले गर्छु म मात्र राम्रो अरू सबै खराब भन्ने प्रवृत्तिले मुलुकलाई अर्को गम्भीर दुर्घटनामा लैजान्छ,’ उनले भने।
थापाले मुलुकलाई सही गन्तव्यमा पुर्याउन स्पिड मात्र नभई स्पिरिट पनि चाहिने भन्दै नेपाली कांग्रेस स्पिरिट सहित स्पिडमा आएको बताए।
‘हामी सुझबुझका साथ सबैलाई एउटै गाडीमा हालेर स्पिरिट र स्पिडमा मुलुकलाई गन्तव्यमा पुर्याउन चाहन्छौँ, नेपाली कांग्रेसको नेतृत्वमा यो ५ वर्ष मुलुकले गति पक्रिन्छ, अगाडि गुड्छ, कुद्छ,’ थापाले भने।
सभापति थापाले बुटवललाई केन्द्रमा राखेर लुम्बिनीका सबै जिल्लाहरूलाई समृद्ध बनाउनुपर्ने आवश्यकता औँल्याए।
उनले बुटवलमा धेरै पूर्वाधार विकासका काम भए पनि मानिसलाई थेगेर राख्न नसकेको उल्लेख गर्दै आसपासका जिल्लाहरूमा मानिसलाई थेगेर राख्न सक्ने गरी योजना बनाउन आवश्यक रहेको बताए।
फेसबुक र मोबाइलले धेरैलाई झुक्क्याउने गरेको भन्दै उनले धेरै उत्तेजनाको राजनीतिमा नबहकिन आग्रह गरे।
शुक्रबार बिहान सर्लाहीबाट हेलिकप्टरमार्फत बुटवल आएका थापाले बुटवलको सभामा सम्बोधन गरेपछि आजै लुम्बिनी, कपिलवस्तुको गोरुसिङ्गे, पर्वत र कास्कीको सभालाई पनि सम्बोधन गर्ने छन्।