राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो अन्तिम इच्छा फागुन २१ को चुनावमा देखाइदिन मतदाताहरूलाई आग्रह गरेका छन्।
शुक्रबार भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफूलाई अन्तिम इच्छा सोधिएको स्मरण गर्दै फागुन २१ गते देखाइदिन मतदाताहरूलाई आग्रह गरेका हुन्।
'प्रमाण छ भनिएको ६५८ दिन भएछ। अब चाहिएन प्रमाण भइगो। अन्तिम इच्छा सोधिएको पनि धेरै दिन भएको छ। तेरो अन्तिम इच्छा के हो भनेर बुट बजारेर बेडरूमभित्र छिरेर मलाई सोधिएको पनि तपाईंहरूलाई सम्झना छ होला। त्यसको जबाफ दिएको थिइनँ। आज म चितवनबाट भन्छु अन्तिम इच्छा के हो फागुन २१ गते मतपत्रमा देखाइदिनुहोला,' उनले भने।
उनले देश जलाउने भनेर आफूहरूप्रति आरोप लगाइएको पनि बताए।
उनले भदौ २३ मा विद्यार्थीहरूमाथि गोली चलाइएपछि संरचना जलेको बताए।
'जल्नुहुँदैनथ्यो, गलत भयो तर गोली ठोक्न हुँदैनथ्यो। मान्छे मार्न हुँदैनथ्यो। त्यहीँबाट बिग्रियो,' उनले भने, 'आजसम्म सिंहदरबार कसले जलायो भन्छन् । सिंहदरबार त्यसैले जलायो जसले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनायो। बालबालिकाहरूलाई गोली ठोक्यो।'
उनले सिंहदरबार भ्रष्टाचारको अखडा नभएको भए विद्यार्थीहरूले आन्दोलन नगर्ने बताए।
'नेपोकिडको नारा लिएर जाँदैनथे। तिमीले बेथिती बनायौ उनीहरू नारा लगाउन गए। त्यसकारण सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै समूह हो। एउटै मानिसहरू हुन्,एउटै जात छ उनीहरूको। अरू कोही पनि होइन,' उनले भने।
जलेको सिंहदरबार रास्वपा सरकारले बनाउने उनले बताए।