इसराइलले इरानमाथि गरेको आक्रमणमा अमेरिका पनि संलग्न भएको खुलेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसले दुई जना अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै इरानमा भएको आक्रमणमा अमेरिकाको पनि संलग्नता रहेको बताएका छन्।
गत वर्षको जुलाईमा इसराइल र इरानबीच युद्ध हुँदा अमेरिकाले इरानमा हमला गरेको थियो।
त्यतिबेला इरानका ठूला तीनवटा आणविक भट्टीमा अमेरिकाले शक्तिशाली जिबियू-५७ बम खसालेको थियो।
अमेरिकाले त्यतिबेलै कामै नलाग्नेगरी ध्वस्त बनाएको भनेको भट्टीहरूमा परमाणु कार्यक्रम पुनः सञ्चालन भइरहेको सार्वजनिक भएपछि अमेरिकाले इरानलाई परमाणु कार्यक्रम रोक्न दबाब दिँदै आएको छ।
ओमान र जेनेभामा पटक-पटकको वार्ताका बाबजुद इरान सहमतिमा नआएपछि अमेरिकाले इरानतर्फ मध्यपूर्वका विभिन्न क्षेत्रमा सैन्य शक्ति तैनाथ गर्दै आएको थियो।
शनिबार उसले प्रत्यक्ष रूपमा नभई इसराइलबाट हमला गराएको हो।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले पनि अमरिकी अधिकारीहरूलाई उद्धृत गरेर इरानमा इसराइल र अमेरिकाले संयुक्त रूपमा हमला गरेको लेखेको छ।
इसराइल तर्फबाट इरानमा ब्यालिस्टिक मिसाइल र मिसाइल लञ्चरले आक्रमण गरेको भनेर सिएनएनले लेखेको छ।
तेहरानमा प्रत्यक्षदर्शीहरूले खामेनेईको कार्यालय नजिक पहिलो विस्फोटको आवाज सुनेका थिए भनेर एपीले लेखेको छ। इरानी सरकारी टेलिभिजनले पनि विस्फोट भएको पुष्टि गरेको छ, तर कारणबारे जानकारी दिएको छैन।
हालसम्म हताहतीबारे कुनै आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। इरानले आक्रमणपछि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ।
इरानले यसअघि कुनै पनि आक्रमण भए अमेरिकी सैनिक र मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाइने चेतावनी दिएको थियो। अब इरानले तत्काल प्रतिकार गर्छ वा गर्दैन भन्ने स्पष्ट छैन, तर घटनाले क्षेत्रीय द्वन्द्व व्यापक बन्न सक्ने चिन्ता बढाएको छ।