नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य विनोद पहाडी नेकपा एमाले प्रवेश गरेका छन्।
उनलाई एमाले उपाध्यक्ष विष्णु पौडेल, केन्द्रीय सचिव छविलाल विश्वकर्मा, नेता लिला गिरी लगायतले पार्टीमा स्वागत गरेका छन्।
नेपालको कम्युनिस्ट आन्दोलन र दलित आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याएका पहाडी राष्ट्रिय दलित पत्रकार महासंघका अध्यक्ष हुन्।
एमाले प्रवेश गर्दै पहाडीले राष्ट्रिय स्वाभिमानमा एमालेको दृढतालाई आधार मानेर एमालेसँग यात्रा गर्ने निर्णय गरेको बताए।
उनले एमालेमाथि भएको घेराबन्दी र आक्रमण लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण भएको बताए।
पहाडीले कुनै लोभमा र लहडमा नभएर विचारका आधारमा एमाले रोजेको जनाए। उनीसँगै नेकपाका रूपन्देही सदस्य सरोज गौतम र बुटवल नगर सदस्य जनक गौतम पनि एमाले प्रवेश गरेका हुन्।