इरानमा शनिबार बिहान इसराइलबाट हमला भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिडिओ सन्देश जारी गरेका छन्।
८ मिनेटको भिडिओ सन्देशमा ट्रम्पले इरानमा हमलाको कारण बताएका छन्। ह्वाइट हाउसले जारी गरेको उक्त भिडिओ सन्देशमा ट्रम्पले इरानबाट अमेरिकामाथि सुरक्षा खतरा उत्पन्न भएका कारण हमला गरेको भनेका छन्।
इरानको शासकलाई उनले निर्दयी र हिंसात्मक भनेका छन्। त्यसबाट अमेरिकामात्र नभई विदेशस्थित अमेरिकी आधार शिविरहरू मित्रराष्ट्रहरूलाई प्रत्यक्ष रूपमा जोखिममा पारेको उनले बताएका छन्।
उनले इरानले ४७ वर्षदेखि अमेरिकीलाई मृत्यु भन्ने नारा लगाउँदै आएको र धेरै अमेरिकीहरूलको हत्या गर्दै आएको बताएका छन्।
'१९८३ मा इरान समर्थित समूहले बेरुतस्थित मरीन ब्यारेकमा बम विस्फोट गराएर २४१ अमेरिकी सैनिकको हत्या गर्यो। सन् २००० मा यूएसएस कोलमाथिको आक्रमणमा उनीहरू सम्भवतः संलग्न पनि थिए, जसमा धेरैको ज्यान गयो। इरानी बलहरूले इराकमा सयौं अमेरिकी सैनिकको हत्या र अंगभंग गरेका छन्,' उनले भनेका छन्।
हालैका वर्षहरुमा पनि इरान समर्थित समूहहरूले मध्यपूर्वमा तैनाथ अमेरिकी सेना, अन्तर्राष्ट्रिय जलमार्गमा रहेका अमेरिकी नौसैनिक तथा व्यावसायिक जहाजहरूमा अनगिन्ति आक्रमण गरेको उनले बताएका छन्।
त्यतिमात्रै होइन लेबनानदेखि यमन र सिरियादेखि इराकसम्म इरानी शासनले आतंकवादी मिलिसियाहरूलाई हतियार, तालिम र वित्तीय सहयोग प्रदान गर्दै आएको र यसले पृथ्वीलाई रक्तरञ्जित बनाएको ट्रम्पले बताएका छन्।
इरानले नै समर्थन गरेको हमासले सन् २०२३ को अक्टोबर ७ मा इसराइलमाथि हमला गरी ४६ जना अमेरिकी नागरिकसहित एक हजारभन्दा बढी निर्दोष मानिसहरू मारेको पनि ट्रम्पले भिडिओ सन्देशमा बताएका छन्।
इरानको प्रवृत्ति त्यस्तो भएकाले उसले परमाणु हतियार कुनै पनि हालतमा बनाउन पाउँदैन भन्ने अमेरिकाको अडान रहेको ट्रम्पले बताए।
'यदी उसँग परमाणु हतियार भयो त्यो कति खतरनाक हुन्थ्यो भन्ने कल्पना गर्नुहोस्,' उनले भने, 'अमेरिकाको प्रशासन मेरो नेतृत्वमा हुँदा हुँदै इरानसँग परमाणु हतियार हुने छैन।'
यी कारणहरूले गर्दा नै अमेरिका अहिले इरानमा व्यापक र निरन्तर कारबाहीमा संलग्न रहेको ट्रम्पले बताएका छन्।
'हामी उनीहरूको क्षेप्यास्त्र नष्ट गर्नेछौं र क्षेप्यास्त्र उद्योग पूर्ण रूपमा ध्वस्त पार्नेछौं। उनीहरूको नौसेना समाप्त गरिनेछ। उनीहरू समर्थित आतंकवादी समूहहरूले अब क्षेत्र वा विश्व अस्थिर बनाउन र हाम्रा सेनामाथि आक्रमण गर्न सक्ने छैनन्। हामी सुनिश्चित गर्नेछौं कि इरानले कहिल्यै परमाणु हतियार प्राप्त नगरोस्,' उनले भने।
ट्रम्पले आफू नेतृत्वमा आएपछि अमेरिकी सेनालाई पृथ्वीकै शक्तिशाली बनाएको पनि बताए। अमेरिकी सेनासँग तुलना विश्वका कुनै पनि सेनासँग नहुने भए पनि युद्धको समयमा जोखिम भने रहने उनको भनाइ थियो।
'साहसी अमेरिकी सैनिकहरूको ज्यान जान सक्छ। युद्धमा क्षति हुन्छ। तर हामी यो वर्तमानका लागि होइन, भविष्यका लागि गरिरहेका छौं। यो एक उच्च उद्देश्य हो,' उनले भने।
ट्रम्पले इरानको सरकारी सेना इस्लामिक रिभोलुसनरी गार्ड को लगायत अन्य सशस्त्र र प्रहरीलाई पनि हतियार छाड्न आग्रह गरे।
'तपाईंहरूले हतियार छाड्नुभयो भने अमेरिकाले पूबर्ण उन्मुक्ति दिनेछ। अन्यथा निश्चित मृत्युको सामना गर्नुपर्नेछ। हतियार राख्नुहोस्, निष्पक्ष व्यवहार पाइनेछ; अन्यथा परिणाम घातक हुनेछ,' उनले भने।
इरानका नागरिकहरूलाई घरभित्र सुरक्षित बस्न पनि ट्रम्पले आग्रह गरेका छन्। अमेरिकाले आफ्नो कारबाही समाप्त गरेपछि सरकार नियन्त्रणमा लिन पनि उनले आग्रह गरे। यसलाई पुस्तौंपछि आएको एक अवसरका रूपमा लिन ट्रम्पले इरानी जनताहरूलाई आग्रह गरे।
'घरबाहिर ननिस्कनुहोस्, बाहिर अत्यन्त खतरनाक अवस्था छ। बम जहाँबाट पनि खस्न सक्छ। जब हाम्रो कारबाही समाप्त हुन्छ, तपाईंहरूले आफ्नै सरकारको नियन्त्रण लिनुहोस्। धेरै वर्षदेखि तपाईंहरूले अमेरिकाको सहयोग माग्नुभयो, तर पाउनुभएन। आज तपाईंहरूसँग त्यस्तो राष्ट्रपति छ, जो तपाईंहरूका लागि कदम चाल्न तयार छ। अब तपाईंहरूको प्रतिक्रिया के हुन्छ, हेरौं,' ट्रम्पले भने।
अमेरिका अत्यधिक शक्ति र निर्णायक बलका साथ इरानी नागरिकहरूको साथमा रहेको पनि ट्रम्पले बताए।
'आफ्नो भविष्यको नियन्त्रण लिनुहोस् र समृद्ध तथा गौरवशाली भविष्यतर्फ अघि बढ्नुहोस्। यो कार्यको समय हो, यस अवसरलाई गुम्न नदिनुहोस्,' उनले भने।