सरकारले इसराइल र इरान यात्रा गर्ने योजना बनाइरहेका नेपालीहरूलाई यात्रा स्थगित गर्न आग्रह गरेको छ।
मध्यपूर्वमा विकसित घटनाक्रमपछि परराष्ट्र मन्त्रालयले सूचना जारी गरी इसराइल र इरानमा यात्रा नगर्न अनुरोध गरेको हो।
इसराइल र अमेरिकाले शनिबार इरानमा हमला गरेको थियो। त्यसको जबाफमा इरानले इसराइल र मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य गरेर आक्रमण गरिरहेको छ।
यस्तो अवस्थामा परिस्थिति स्थिर नहुन्जेलसम्मका लागि यात्रा योजना नबनाउन मन्त्रालयले आग्रह गरेको हो।
साथै इरान र इसराइलमा रहेका नेपालीहरूलाई त्यहाँका सरकारले सुरक्षा सूचना र निर्देशन पालना गर्न पनि अनुरोध गरेको छ।
मध्यपूर्वका अन्य देशका रहेका नेपालीहरूलाई पनि उच्च सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ।
सकेसम्म घरभित्रै बस्न, सतर्क रहन र आवश्यक साबधानी अपनाई सम्बन्धित देशका अधिकारीबाट पूर्वअनुमति नपाई यात्रा नगर्न मन्त्रालयले आग्रह गरेको हो।
नेपालीहरुलाई त्यहाँ रहेका आफ्ना समुदायसँग र मन्त्रालयसँगै इसराइलको तेल अविभ, कतारको दोहास्थित नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहन भनिएको छ।
तेल अविभस्थित नेपाली दूतावासले पनि सूचना जारी गरी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
दूतावासले इजरायली सुरक्षा निकाय र होम फ्रन्ट कमान्डले जारी गरेका निर्देश पालना गर्न र सम्बन्धित निकायको अनुमति बिना यात्रा नगर्न सल्लाह दिएको छ।
साथै, नागरिकहरूलाई नजिकैको सुरक्षित स्थल वा सेल्टरमा रहन र आपतकालीन परिस्थितिमा नियमित रूपमा दूतावाससँग सम्पर्क कायम राख्न निर्देशन दिइएको छ।