निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत मतदानको दिन अर्थात् फागुन २१ गते सवारीसाधन सञ्चालनलाई व्यवस्थित, प्रभावकारी तथा अत्यावश्यक सेवामैत्री बनाउन विशेष व्यवस्था सार्वजनिक गरेको छ।
आयोगले नेपाल सरकारलाई सिफारिस गर्दै केही अत्यावश्यक सेवाका सवारी साधनलाई पास आवश्यक नपर्ने व्यवस्था मिलाउन आग्रह गरेको जनाएको छ। ती सवारी साधनले सम्बन्धित प्रयोजनबाहेक अन्य यात्रु बोक्न भने नपाइने स्पष्ट गरिएको छ।
पास आवश्यक नपर्ने सवारीसाधनहरू:
दमकल, एम्बुलेन्स र शववाहन
खानेपानीका ट्याङ्कर तथा दुध, फलफूल, तरकारी, माछा, मासु र पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन
दूरसञ्चार, खानेपानी, विद्युत र ढल मर्मतका सवारीसाधन
अस्पताल सेवा सम्बन्धी सवारी (चिकित्सक तथा स्वास्थ्यकर्मीको आवतजावतका लागि)
अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु ओसारपसार गर्ने सवारी (विमानस्थल–घर/होटल)
हिडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, बच्चा बोकेकी महिला, किरियापुत्री, अपाङ्गता भएका व्यक्ति, अशक्त ज्येष्ठ नागरिक मतदाता र एक जना सहयोगी बोकेका सवारी
नम्बर प्लेटमा ‘CD’ उल्लेख भएका कूटनीतिक नियोगका सवारी
आयोगबाट जारी परिचयपत्रधारी पर्यवेक्षक, राष्ट्रिय मानव अधिकार आयोगका अनुगमन टोली तथा प्रेस पास भएका सञ्चारकर्मीका सवारी
आयोगले निर्वाचन आयोग, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रतिनिधि सम्मिलित एकीकृत सवारीसाधन आवागमन डेस्क आयोग परिसरमा स्थापना गरिएको पनि जनाएको छ।
उक्त डेस्कमार्फत काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाबाट जारी हुने सवारी पाससमेत वितरण भइरहेको जानकारी दिइएको छ।
आयोगले मतदानको दिन आवश्यक सेवामा बाधा नपुग्ने गरी तोकिएका सवारीसाधन मात्र सञ्चालन गर्न र नियम उल्लङ्घन नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ।