अमेरिका र इसराइलले इरानका रक्षामन्त्री र इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)का कमान्डर मारिएको दाबी गरेको छ।
शनिबार बिहान तेहरानमा अमेरिका र इसराइलले गरेको हवाई हमलामा इरानी रक्षामन्त्री अमिर नासिरजादेह र आइआरजिसी कमान्डर जनरल मोहम्मद पाकपुर मारिएको तीन उच्च स्रोतलाई उद्धृत गरी अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
इसराइली अधिकारीहरूले पनि आइआरजिसी कमान्डर पाकपुर, रक्षामन्त्री नासिरजादेह तथा इरानका गुप्तचर प्रमुख हमलामा मारिएको सम्भावना रहेको बताएका थिए।
रोयटर्सले तीन उच्च स्रोतलाई उद्धृत गरेर उनीहरू मारिएको लेखे पनि इरानी पक्षबाट पुष्टि नभएको बताएको छ।
रिपोर्टअनुसार शुक्रबार बिहान गरिएका आक्रमणहरू इरानका शीर्ष राजनीतिक तथा सैन्य नेतृत्वलाई निशाना बनाइएको थियो।
लक्षित व्यक्तिहरूमा इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी र राष्ट्रपति मसउद पेजेश्कयान पनि रहेको बताइएको छ। उनीहरूको अवस्था भने स्पष्ट हुन सकेको छैन।
शनिबार बिहान इरानले राष्ट्रपति सुरक्षित रहेको भनेको थियो।
आक्रमणको विस्तृत विवरण र क्षतिको यकिन अवस्था अझै सार्वजनिक भएको छैन।
कतारी मिडिया अलजजिराले इरानको हर्मोजगन प्रान्तको मिनाबमा एक विद्यालयमा ५३ जनाको मृत्यु भएको उल्लेख गरेको छ।
इरानी विदेशमन्त्री अब्बास अराक्चीले विद्यालयमा भएको आक्रमणपछिको तस्बिर साझा गर्दै अमेरिका र इसराइलले इरानीमाथि अपराध गरेको बताएका छन्।