राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले मध्यपूर्वी क्षेत्रमा रहेका नेपालीलाई सकेसम्म घरभित्रै सुरक्षित हुन अनुरोध गरेका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न पनि अनुरोध गरे।
‘त्यहाँ स्थित राजदूतावासले हालको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कृपया सकेसम्म घरभित्रै सुरक्षित रहनुहुन, स्थानीय सुरक्षा निकायका निर्देशनहरू पूर्ण रूपमा पालना गर्नुहुन, अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्नुहुन र नजिकैको सुरक्षित आश्रयस्थलको जानकारी राख्नुहुन अनुरोध गर्दछु, ’ उनले लेखेका छन्।
अमेरिका र इसराइलले हमला गरेपछि इरानले खाडी र मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा लक्ष्य गरेर जबाफी हमला गरेको छ।
शनिबार बिहान इसराइलबाट इरानको राजधानी तेहरान लगायतका ठाउँहरूमा हमला भएको थियो। हमलाको केही पछि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकाले हमला गरेको बताएका थिए।
जबाफमा इरानले इसराइलमा दर्जनौं ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो।
यसरी तनावपूर्व अवस्था सिर्जना भएपछि हवाइ उडानहरू रद्द समेत भएका छन्।