नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले मधेसमा दलितको घर बदल्ने संकल्प गरेका छन्।
शनिबार वीरगञ्जमा आयोजित प्रतिज्ञा सभामा बोल्दै उनले त्यस्तो संकल्प गरेका हुन्।
‘म मेरो क्षेत्रको गाउँगाउँ, गल्लीगल्ली घुमेँ, उखु किसानको पीडादेखि सिमानामा बसेका मानिसको पीडासम्म सुनेँ, मैले यहाँको दलित बस्ती हेरें, मलाई क्षमा गर्नुहोला, मेरो कार्यकालमा एउटा पनि दलितको यस्तो घर राखेँ भने त्यो भन्दा ठूलो अपराध मलाई अरू केहि पनि लाग्दैन,’ उनले भने।
उनले आफ्नो शरीरभित्र मधेसी आमाको रगत नबगे पनि मधेसी आमाले देखेको सपना पुरा गर्छु भन्ने संकल्प लिएर उनको बेटा बन्छु भनेर आएको बताए।
कांग्रेसलाई मधेसले ऋण लगाएको त्यो ऋण चुक्ता गर्न कांग्रेसले आफूलाई मधेसबाट उम्मेदवार बनाएर उठाएको उनको तर्क छ।
उनले देशलाई तीव्र गतिमा गुडाउनुपर्ने आवश्यकता रहेको बताउँदै त्यसका चलाउने चालकको मति र सोँच पनि ठिक हुनुपर्ने बताए।
‘तीव्र गतिमा देशलाई दौडाउनुपर्नेछ, कुनै सन्देह छैन। अहिलेको गतिले कहिँ पुगिन्न। हाम्रो स्पिड कम्तीमा पाँच गुणा बढाउनुपर्नेछ। स्पिड कांग्रेसले दिन्छ। ग्यारेन्टी भो। तर ख्याल गर्नुस्, म भन्दा चर्को स्वरमा अर्कोले आएर तपाईसँग स्पिडको कुरा गर्छ। तपाईले त्यो भन्दा बढी जोडले ताली बजाउनुहुन्छ,’ उनले भने, ‘तीव्र गतिमा गुडेको गाडी त्यतिबेला मात्रै गन्तव्यमा पुग्छ। जतिखेर गति मात्रै ठिक भएर हुँदैन, चलाउने चालकको मति र सोँच पनि ठिक हुनुपर्छ। उत्ताउलो भएर मात्रै हुँदैन, सुझबुझ पनि चाहिन्छ, सम्हाल्न सक्नुपर्छ। ’
देश बनाउन सबैलाई मिलाएर लैजान सक्ने व्यक्ति चाहिने उनको तर्क छ।
‘देशमा कति थरिका मान्छे छौं, मधेसका छौं, पहाडका छौं, जनै लगाउने छौं, जनजाति छौं, अहिले भर्खर रोजा खोल्नलाई साथीहरु जानुभएको छ। थरी थरी धर्म, जातका छौं। यो सबैलाई मिलाएर नलगिकन देश बनाउन सकिन्छ?’ उनले भने।
आफू जादुगर नभएको बताउँदै उनले चमत्कार गर्ने कुरामा विश्वास समेत नगर्ने बताए। संविधान संशोधन गर्नका लागि सबैको साथ चाहिने उनको तर्क छ।
‘परिवर्तन गर्ने हो, परिवर्तनका लागि संकल्प चाहिन्छ, सुधार गर्ने हो सपना चाहिन्छ, तर एक्लैले गर्ने होइन, सबैलाई मिलाएर लगेर गर्ने हो। ६ हजार ७ सय ४३ वटा वडाका वडा अध्यक्षलाई सँगसँगै लिएर हिँड्नुपर्छ। प्रदेशको सरकारलाई सँगै हिडाउनुपर्छ,’ उनले थपे, ‘संविधान संशोधन नगरी धेरै कुरा चल्दैन, संविधान संशोधन गर्न एमाले चाहिँदैन? माओवादी चाहिँदैन? मधेशका दल, रास्वपा चाहिँदैन? सबै चाहिन्छ नी? अनि म ठिक बाँकी रहेको सबै बेठिक, म ठिक बाँकी सबै खराब भनेर, म खतरा बाँकी रहेको सबै झुर भनेर चल्छ देश? चलाउन सकिन्छ? यसलाई सम्हालेर लैजानुपर्छ।’
यसपटक कांग्रेस विकासका कुरालाई महत्व दिएर ‘भिजन टेन’ लिएर आएको उनले बताए।
किसानले समस्या झेल्दै आएको रासायनिक मलका लागि पैसा छुट्याएर मात्रै नहुने टेन्डर प्रक्रियामा नै सुधार गर्नुपर्ने उनको भनाई छ।
‘कानुनमा जसरी टेन्डर गर्ने प्रक्रिया लेखिएको छ, त्यसलाई खारेज गरेर मलको लागि नयाँ कानून नबनाइकन मल पाउँदै पाउँदैन,’ उनले भने, ‘मैले एक महिना भित्र मलको समस्या समाधान गर्न सक्छु, किनकी समस्या थाहा भयो, समाधान गर्ने संकल्प छ र कसरी गर्ने भनेर सुझबुझ पनि छ।’
गाउँ गाउँमा मलको बिक्रिका लागि राखिएको एजेन्ट पनि खारेज गर्नुपर्ने उनको धारणा छ। रिक्सा चालकलाई सामाजिक सुरक्षामा आवद्ध गर्ने उनको भनाई छ।
प्रतिज्ञा सभामा ‘सम्मानित मधेस, समुन्नत देश’ भन्ने नाराका साथ कांग्रेसको मधेस प्रतिज्ञापत्र सार्वजनिक गरिएको थियो। यसअघि कांग्रेस सभापति गगनले पर्साको पोखरीया, बारा लगायत विभिन्न स्थानका सभालाई सम्बोधन गरेका थिए।