इरानका विदेशमन्त्री अब्बास अराघ्चीले शनिबारको हमलामा केही कमाण्डर गुमाएको बताएका छन्।
एनबिसी न्युजसँग अन्तर्वार्तामा विदेशमन्त्री अराघ्चीले इसराइलबाट भएको हमलामा इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)का केही कमाण्डर गुमाएको तर चिन्ताजनक क्षति नभएको भनेका हुन्।
‘हामीले एक/दुई जना कमाण्डरहरू गुमाएका हुन सक्छौं । तर त्यस्तो आँत्तिनु पर्ने अवस्था र समस्या छैन,’ अराघ्चीको भनाई उद्धृत गर्दै एनिबिसी न्युजले लेखेको छ।
यसअघि इसराइली मिडिया र अन्य केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले इरानी रक्षामन्त्री र आइआरजिसीका प्रमुख नै मारिएको भनेर समाचार प्रकाशन गरेका थिए।
विदेशमन्त्री अराघ्चीले सर्वोच्च नेता आयातोल्लाह अली खामेनी जीवितै रहेको दाबी पनि गरेका छन्।
‘मेरो सूचना अनुसार सर्वोच्च नेता जीवितै र सुरक्षित हुनुहुन्छ,’ उनले भनेका छन्।
उनले अन्य उच्च अधिकारीहरू पनि सुरक्षित रहेको दाबी गरेका छन्।
‘हाम्रा अधिकांश उच्च अधिकारीहरू सुरक्षित हुनुहुन्छ,’ उनको भनाई उद्धृत गरेर एनबिसी न्युजले लेखेको छ।
मारिएको भनिएका ती एक-दुई जना को थिए भन्नेबारेमा भने खुलाइएको छैन।
इसराइलले इरानका विदेशमन्त्री खामेनी र राष्ट्रपति मशुद पेजिस्कियनलाई लक्ष्य गरेर हमला गरिएको भनेर शनिबार दिउँसै बताएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो सम्बोधनका क्रममा इरानी जनतालाई सत्ता आफ्नो नियन्त्रणमा लिन तयार रहनू भनेर आग्रह गरेका थिए।
इरानले राष्ट्रपति पेजिस्कियन पनि सुरक्षित नै रहेको भनेर शनिबार दिउँसै बताएको थियो।
उनले खाडीका विभिन्न मुलुकहरूसँग पनि कुराकानी भएको र उनीहरूमाथि आक्रमण गर्ने इरानको कुनै उद्धेश्य नभएको, केबल आत्मरक्षाका लागि त्यहाँका अमेरिकी सैन्य अड्डाहरूमा हमला गरिएको भनेर जानकारी गराइएको बताएका छन्।
हमलापछि अमेरिकासँग कुनै संवाद नभएको बताएका छन्।
‘उनीहरूसँग हाम्रो संवाद भएको छैन। अमेरिकाले चाह्यो भने कसरी कुरा हुन्छ भन्ने उनीहरूले जान्दछन्,’ अराघ्चीले भने।