नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा मिसाइल बर्सिँदा आफू रातभरि निदाउन नसकेको बताएका छन्।
आइतबार बिहानीपख फेसबुकमा स्ट्याटस लेख्दै ओलीले आकाशबाट बर्सिएका मिसाइलको धुवाँको दृश्यले रातभरि निद्रा नपरेको बताएका हुन्।
'आज तपाईंहरूलाई पलपल छट्पटी भइरहँदा म निदाउन सकिनँ, बेचैन छु । यसबेला हाम्रो सजगता चाहिन्छ, धैर्य चाहिन्छ। विवेक, धैर्य र साहस- कामना गर्छु,' उनले भनेका छन्।
लाखौं नेपाली आपत र कोलाहलमा हुँदा उनीहरूका परिवार पल पल छटपटाएर बस्नुपरेको पनि उनले बताएका छन्।
'आज संसारभर संसारकै नागरिक छन् । किनकि अवसर छनौटको खुला विश्वमा यो स्वाभाविक हो। तर, अस्वाभाविक र खतरनाक कुरा त युद्ध हो, भूराजनीतिक चपेटा हो। ती देशहरू पनि पक्कै युद्ध चाहँदैनथे। तर शक्तिको स्वार्थ घुसेपछि विवश हुनु पर्ने,' ओलीले लेखेका छन्।
उनले सौभाग्यबस नेपालमा मिसाइलको धुवाँ भोग्नु नपरेको र कुनै पनि आवरणमा त्यो आउन नसकोस् भन्ने आफ्नो प्रार्थना रहेको बताएका छन्।