आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली सेनाले तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्ने जनाएको छ।
आइतबार जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गर्दै सेनाले प्रदान गर्ने सुरक्षाबारे जानकारी गराएको हो।
निर्वाचनको सुरक्षा व्यवस्था प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ र प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ अनुसार सञ्चालन भइरहेको छ। सेना पनि त्यही योजनाअनुसार निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको निर्देशनालयले जनाएको छ।
यही योजना अनुसार सेनाले मतपत्र छपाई स्थलको सुरक्षा, काठमाडौंबाट देशका सबै जिल्लास्थित निर्वाचन कार्यालय सम्म मतपत्र ढुवानी र निर्वाचनको दौरान तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्ने जनाएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पछि नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछ।
साथै निर्वाचन अधिकृत, दलका तोकिएका प्रतिनिधिहरूसहित नेपाली सेनाको टोली खटिएर निर्वाचनपछि मतपेटिका गणनास्थलसम्म ढुवानी गरिने पनि जानकारी दिएको छ।
सेनाले २०४८ साल देखिको निर्वाचनमा सेना परिचालन भएर सुरक्षा दिन थालेको पनि प्रष्ट्याएको छ।
