नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि मधेस केन्द्रित प्रतिज्ञा पत्र ल्याएको छ।
कांग्रेस सभापति गगन थापाले शनिबार ‘सम्मानित मधेस, सम्मुनत देश’ भन्ने नारासहित ४५ पृष्ठ लामो प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन्। कांग्रेसले चुनावी घोषणापत्रलाई प्रतिज्ञा पत्र भनेर सार्वजनिक गर्दै आएको छ।
प्रतिज्ञा पत्रमा १२ वटा मुख्य बुँदा समावेश गरिएका छन्। फागुन ६ गते जनकपुरको तिरहुतियामा आयोजित मधेस सभामा १० वटा भिजन सहितको संघीय प्रतिज्ञा पत्र सार्वजनिक गरिएको थियो।
पहिलो प्रतिज्ञा संविधान कार्यान्वयन र पहिचान न्याय कुरा छ, जो मधेसको अधिकारसँग जोडिएको छ।
जसमा नागरिकता उपकार होइन अधिकार हो भनिएको छ।
मधेसमा विद्यमान नागरिकता सम्बन्धि समस्यालाई सम्बोधन गर्ने प्रयत्न गरिएको छ। कुनै पनि योग्य नेपाली नागरिक नागरिकताबाट वञ्चित नहुने उल्लेख गर्दै नागरिकतालाई अनुरोध गनुपर्ने कृपा नभई प्रदान गर्नुपर्ने अधिकारको रूपमा व्यवहार गरिने भनिएको छ।
सेवामा समयबद्धताको पूर्ण कार्यान्वयन योजना तय गर्न विद्यमान संवैधानिक समन्वय संयन्त्रहरू क्रियाशील बनाउने, स्वतन्त्र संविधान कार्यान्वयन बोर्ड गठन गर्ने, बहुभाषिक नीतिको कार्यान्वयन तथा संविधानमा उल्लिखित भाषा आयोगको भूमिका उल्लेख छ।
दोस्रो प्रतिज्ञामा संघीयताको कार्यान्वयन र सेवालाई सहज बनाउन डिजिटाइज गर्ने उल्लेख छ।
‘प्रदेशमा अधिकार सेवामा सुधार’ नारा दिँदै सत्ता केन्द्रमा केन्द्रिकृत नभई घरदैलोमा पुर्याउने उल्लेख छ। आवश्यक कानूनहरू बनाउने, स्थानीय सेवा प्रवाहलाई सशक्त बनाउने, प्रदेशहरूलाई विकासको इञ्जिन बनाउने, संघ, प्रदेश, स्थानीय सेवा प्रवाह मूलपत्र र सार्वजनिक अनुगमनको व्यवस्था गर्ने प्रतिज्ञा गरिएको छ।
तेस्रोमा रोजगारी र सीपसँग सम्बन्धित छ।
‘काम मधेसमै, कमाई आफ्नै’ भन्ने नारा दिएर वैदेशिक रोजगारीलाई बाध्यता नभएर विकल्प बनाउने प्रतिज्ञा कांग्रेसले गरेको छ।
वैदेशिक रोजगारीमा जानेहरूलाई संरक्षण, घरमै रोजगारी सृजना र शिक्षालाई आम्दानीसँग जोड्ने, सुरक्षित र निष्पक्ष वैदेशिक रोजगारी, बेरोजगार युवाले वर्षमा १०० दिन तलब सहितको काम पाउने दावी प्रतिज्ञा पत्रमा गरिएको छ।
सिकाइबाट कमाइतर्फ, वैदेशिक रोजगारीबाट फर्केका कामदारका लागि अवसर प्याकेज, धरौटी बिना ५ लाख रूपैयाँसम्म ऋण सुविधाको चर्चा यसमा गरिएको छ।
चौथो प्रतिज्ञामा ‘किसानको सम्मुनति मेरो किसान मेरो अन्नदाता’ भनिएको छ।
उब्जनीको मूल्य, किसानलाई मनग्य भन्ने नारा दिएर मधेसका किसानलाई आवश्यक तत्वको समयमा उपलब्धता, निष्पक्ष मूल्य, भरपर्दो सिँचाइ र स्थानीय मूल्य सम्बर्द्धन गर्ने चार वटा सुनिश्चितता गर्ने उल्लेख छ।
आवश्यकताको समयमै उपलब्धता, कटानी अघि कमाई, मधेसका मुख्य बालीहरू धान, गहुँ, मकै, दाल र उखु बालीको लागि न्यूनतम समर्थन मूल्य एमएसपी र खरिद प्रणाली लागु गर्ने योजना अघि सारिएको छ।
भरपर्दो पानी, सिँचाई परियोजनामा जवाफदेहित, काम गर्ने बीमा, उब्जनीबाट बढी आम्दानी, बाली संरक्षण, भूमिहीन र सिमान्तकृत किसानको समर्थनको विषय यहाँ समेटिएको छ।
पाँचौं, मधेसको अर्थतन्त्र, देशको इन्जिन, उन्नती मधेसको तरक्की देशको भन्ने नारा दिइएको छ।
जसमा उत्पादन बढाउने, निष्पक्ष व्यापार गर्ने र मधेसभित्र मूल्य कायम गर्ने भनिएको छ। सीमा र बजारमा निष्पक्षता, औैद्योगिक प्रतिश्पर्धात्मता, रेमिट्यान्सलाई लगानीमा बदल्ने, सबैका लागि वित्तीय पहुँचको व्यवस्था गर्ने जनाईएको छ।
छैटौंमा बाढी सुरक्षा र जलवायु न्यायसँग जोडिएको छ। बाढीबाट बच्ने स्थायी प्रणालीको विकास गर्ने तराई मधेस बाढी संरक्षण प्राधिकरण गठन गर्ने, जलवायु न्याय: क्षति मात्र होइन, कारणको समाधान गर्ने प्रतिज्ञा गरिएको छ।
बाढी सुरक्षा र जलवायु न्याय असाध्यै कम चर्चा हुने विषय भएको सभापति गगनको भनाइ छ।
‘मधेसको ठूलो समस्या हो, चुनावको बेलामा चर्चा हुन्छ। चुरेको समस्या हल नगरिकन वीरगञ्जको खानेपानी समस्या समाधान हुन्छ?,’ उनले भने, ‘वीरगञ्जको चापाकल कहाँसम्म लिएर जानुपर्छ अहिले? वीरगञ्जमा पानीको समस्याले गर्दा गत वर्ष कत्रो हैजाको प्रकोप खेप्नुपर्यो हामीले? समस्याको जरासम्म नपुगीकन हामीले समस्याको समाधान गर्न सक्दैनौं।’
सातौं प्रतिज्ञा, पानी सुरक्षा, महंगी राहत र अवास, आठौं शिक्षा र स्वास्थ्य छ।
त्यसका लागि पानी सुरक्षित, घर सुरक्षित, महंगी कम निश्चिन्त मन, शिक्षामा गुणस्तर, सुलभ र निःशुल्क स्वास्थ्योपचार, भविष्यको आधार, सन्तानप्रति निश्चिन्त परिवार लगायतका नारा दिइएको छ।
नवौं प्रतिज्ञा युवा र बाल सुरक्षा, दशौं महिला उद्यम र न्याय, एघारौं पर्यटन तथा साँस्कृतिक समुन्नति र १२ औं प्रतिज्ञा राष्ट्रिय प्राथमिक आयोजनासँग सम्बन्धित छ।