अमेरिका र खाडी क्षेत्रका प्रमुख देशहरूले इरानद्वारा क्षेत्रभर गरिएका मिसाइल तथा ड्रोन आक्रमणको कडा निन्दा गरेका छन्।
आइतबार संयुक्त वक्तव्य जारी गरी अमेरिकासँगै बहराइन, जोर्डन, कुवेत, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानका कदमको विरोध गरेका हुन्।
‘इरानको गतिविधिहरूले अनेकौं देशको सार्वभौमसत्ता उल्लंघन गरेको छ र क्षेत्रीय स्थिरतामा गम्भीर खतरा उत्पन्न गरेको छ,’ वक्तव्यमा भनिएको छ।
वक्तव्यले युद्धमा संलग्न नभएका देशहरू र सर्वसाधारण नागरिकलाई लक्षित गर्नु लापरबाहीपूर्ण र अस्थिरता निम्त्याउने व्यवहार भएको उल्लेख गरेको छ।
‘हामी आफ्ना नागरिक, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षामा एकताबद्ध छौं र यस्ता आक्रमणविरुद्ध आत्मरक्षाको अधिकार पुनः पुष्टि गर्छौं,’ वक्तव्यमा थपिएको छ।
यसैबीच, खाडी सहयोग परिषद् (जिसिसी) का सदस्य राष्ट्रहरूले पनि आइतबार आपतकालीन बैठक बसेर इरानी आक्रमणबाट सदस्य देशहरूमा भएको ठूलो क्षतिको समीक्षा गरेका छन्।
जिसिसीमा यूएई, बहराइन, साउदी अरेबिया, ओमान, कतार र कुवेत सदस्य छन्।
जिसिसीले विज्ञप्ति जारी गर्दै इरानले नागरिक पूर्वाधार र आवासीय क्षेत्रमा समेत निशाना बनाएको आरोप लगाएको छ। उसले इरानको कदमलाई अन्तर्राष्ट्रिय कानुन र सदस्य राष्ट्रहरूको सार्वभौमसत्ताविरुद्धको उल्लंघन भनेको छ।
यद्यपि जिसिसीले संवाद र कूटनीतिक पहलको आवश्यकता औंल्याउँदै इरानलाई आक्रमण रोक्न आह्वान गरेको छ। साथै, क्षेत्रीय सुरक्षाको रक्षाका लागि “आवश्यक सबै उपाय” अपनाइने चेतावनी पनि दिएको छ।
इरान र खाडी देशहरूबीच पछिल्ला दिनहरूमा बढ्दो तनावका बीच जारी संयुक्त वक्तव्यलाई क्षेत्रीय शक्ति सन्तुलन र सुरक्षा अवस्थाको दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।