नवलपुरकी १३ वर्षीया बालिका रितिका महतोको चञ्चलपन उनका बुबा मनोज कुमारले अझै बिर्सिएका छैनन्। चार जना छोरीमध्ये कान्छी रितिका ४ कक्षा पढ्दै थिइन्। उनलाई अचानक ज्वरो आयो। रिंगटा लाग्न थाल्यो। वाकवाकी आउन थाल्यो।
मनोज कुमारले सुरूमा छोरीलाई सन्चो बनाउन धामी झाँक्रीलाई देखाए। झारफुक गरे। झाँक्रीको विद्याले छोरीको शरीरबाट निस्केको रापताप घटेन। उल्टै बढ्दै गयो।
धामी झाँक्रीबाट उपचार सम्भव नभएपछि मनोज कुमारले कावासोतीको मध्यविन्दु अस्पताल लगे। अस्पतालका चिकित्सकले रितिकाको उपचार यहाँ सम्भव नभएको भन्दै भरतपुर अस्पताल लैजान सुझायो। उनले रितिकालाई भरतपुर लगे।
भरतपुर अस्पतालमा परिक्षण गरेपछि मात्र मनोज कुमारले थाहा पाए, रितिकालाई जापानिज इन्सेफ्लाइटिस भएको रहेछ। लामखुट्टेको टोकाइबाट लाग्ने यो रोग यति प्राणघातक छ कि प्रत्येक १०० जना संक्रमित हुँदा ३० जनाभन्दा बढी संक्रमितको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मनोज कुमारले रितिकालाई भरतपुर अस्पतालमा एक साता भेन्टिलेटरमा राखेर उपचार गरे। भेन्टिलेटरमा राख्दा पनि रितिकाको स्वास्थ्यमा सुधार आएन। अस्पतालका चिकित्सकले नै हार खाइसकेका थिए। छोरीलाई सन्चो हुने आशा मनोज कुमारले भने पालिराखेका थिए।
रितिकाको स्वास्थ्यमा सुधार नआएपछि अस्पतालले रितिकालाई घर लैजान भन्यो। घर लगेकै रात गत साउन अन्तिम साता रितिकाले ज्यान गुमाइन्।
‘छोरीलाई जापानिज इन्सेफ्लाइटिस लागेको कुरा ढिलो गरी थाहा भयो। अस्पताल लैजान ढिलो गर्दा जोगाउन सकिनँ,’ मनोज कुमारले सतोपाटीसँग भने, ‘खोप लगाउन पाएको भए पनि छोरीलाई जोगाउन सकिने रहेछ।’
घर बनाउने मिस्त्री काम गर्ने मनोज कुमारलाई छोरीको उपचार गर्न गाउँपालिकाले केही रकम सहयोग गरेका थिए। केही रकम गाउँलेहरूले उठाएर दिएका थिए। जति गर्दा पनि उपचार सम्भव नभएको उनी बताउँछन्। ज्वरो आउनेबित्तिकै लैजान पाएको भए पनि छोरीको उपचार सम्भव हुने कुरा सुन्दा उनलाई अहिले पनि थकथकी लाग्छ।
नेपालमा जापानिज इन्सेफ्लाइटिस रोग सन् १९७८ मा रूपन्देहीमा पहिलो पटक रेकर्ड भएको थियो। त्यसपछि यो रोगले बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा महामारीको रूप लियो।
नेपालका तराई भेगदेखि मध्यपहाडसम्म जापानिज इन्सेफ्लाइटिस फैलिँदा सन् १९९० को दशकमा चीन सरकारको सहयोगमा व्यापक खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य मन्त्रालयको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले बताए।
थोरै मानिसलाई लाग्ने जापानिज इन्सेफ्लाइटिसले धेरै मानिसको मृत्यु हुने गरेकाले सरकारले पनि प्राथमिकता दिएर एक वर्ष माथिका सबै बालबालिकालाई खोप लगाउने थालियो। अहिले पनि १२ महिना पूरा भएका बालबालिकालाई यो खोप लगाइन्छ। खोप अभियान सुरू हुनुभन्दा अघि जन्मिएका र खोप लगाउन छुटेका मानिसलाई अहिले फेरि यो रोगको संक्रमण देखिएको उनी बताउँछन्।
‘स्वास्थ्य मन्त्रालयले खोप अभियान सुरू गर्दा जन्मिएका मानिस अहिले ३४ वर्षका भए। ३४ वर्षमुनिका मानिसलाई यो रोगको संक्रमण कम छ,’ उनले भने, ‘३५ वर्षमाथिका मानिसलाई जापानिज इन्सेफ्लाइटिस लागेको छ र ३० प्रतिशतभन्दा बढी संक्रमितले ज्यान गुमाउनुभएको छ।’
पछिल्ला वर्षहरूमा नेपालमा जापानिज इन्सेफ्लाइटिस संक्रमित र मृतकको संख्या बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विगत ५ वर्षयता नवलपुरमा मात्र जापानिज इन्सेफ्लाइटिसबाट ३८ जना, चितवनमा ३८ जना, कैलालीमा २८, तनहुँमा २०, दाङ र झापामा १९/१९ जनाको मृत्यु भइसकेको छ।
जापानिज इन्सेफ्लाइटिसले मानिसको मृत्युदर बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयको राष्ट्रिय खोप सल्लाहकार समितिले जोखिमयुक्त क्षेत्रमा तत्काल खोप अभियान चलाउने निर्णय गरेको छ। सोही निर्णय अनुसार अहिले नवलपुरमा १ लाख ५० हजार मानिसलाई खोप लगाउने अभियान चलिरहेको डा. गौतमले बताए।
नेपालका तराई भेगका सबै जिल्ला र मध्यपहाडसम्म जोखिमयुक्त रहे पनि तत्कालका लागि सबैभन्दा जोखिमयुक्त रहेकाले नवलपुरमा खोप अभियान चलाएको उनले बताए। स्वास्थ्य मन्त्रालय मातहत बाँकी रहेको खोप अहिले नवलपुरका बासिन्दालाई दिन थालिएको बताए। अन्य जोखिमयुक्त जिल्लामा खोप अभियान चलाउन सरकारले खोप खरिद गर्नुपर्ने र दातृ निकायसँग सहकार्य गर्नुपर्ने डा. गौतम बताउँछन् ।
‘नेपालका सबै मानिसलाई जापानिज इन्सेफ्लाइटिस विरूद्धको खोप लगाउन आवश्यक छ, यसका लागि हामीले स्वास्थ्य मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा प्रस्ताव पठाउने तयारी गरेका छौं,’ उनले भने, ‘दातृ निकाय र संस्थाहरूसँग पनि सहकार्य हुँदैछ।’
सरकारले सबै बालबालिकालाई खोप लगाउन थाल्नुभन्दा अघि जन्मिएका मानिसलाई मात्र खोप दिनुपर्ने भन्दै उनले एक पटक खोप लगाइसकेका व्यक्तिलाई भने फेरि लगाउन नपर्ने बताए।
डा. गौतमका अनुसार जापानिज इन्सेफ्लाइटिस एक प्रकारको भाइरस हो, जुन विशेष गरि सुँगुर, हाँसबाट लामखुट्टेको माध्यमबाट मानिसमा सर्छ। यो भाइरस भएको सुँगुर र हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्यो भने यो रोग सर्ने उनले बताए। तर जापानिज ईन्सेफलाइटिस संक्रमित मान्छेबाट निरोगी मान्छेमा भने सर्दैन।
क्युलेक्स नामक लामखुट्टेले सार्ने यो रोगबाट जोगिन जनचेतनाको पनि उत्तिकै आवश्यकता रहेको उनले बताए।
लामखुट्टेको टोकाइबाट जोगिने उपाय अपनाउँदा जापानिज इन्सेफ्लाइटिस र डेंगीबाट जोगिन सकिने भन्दै उनले झुल प्रयोग गर्न र लामखुट्टेले फुल पार्न सक्ने गरी पानी जम्न नदिन आह्वान गरे।
उनकाअनुसार जापानिज इन्सेफ्लाइटिस सार्ने क्युलेक्स जातका लामखुट्टे फोहोर पानीमा फुल पार्छ भने बिहानको झिसमिसे र साँझमा बढी सक्रिय हुन्छ। डेंगी रोग सार्ने एडिज प्रजातिका लामखुट्टेले दिउँसोको समय बढी सक्रिय हुन्छ। दुवै खालको लामखुट्टेबाट रोग सार्ने सिजन भनेको असारदेखि असोजसम्म अत्याधिक रहेको डा. गौतमले बताए।
जापानिज इन्सेफ्लाइटिसभन्दा बढी डेंगीका संक्रमण भए पनि मृत्युदर भने जापानिज इन्सेफ्लाइटिसको देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जापानिज इन्सेफ्लाइटिस रोग लागेपछि दिमागमा असर गर्ने र शरीरलाई अचेत अवस्थामा पुर्याउने, प्यारालाइसिस जस्ता समस्या आउने उनले बताए।
जापानिज इन्सेफ्लाइटिस भाइरस बोकेको लामखुट्टेले टोकेको ७ देखि १० दिनमा लक्षण देखिने भन्दै तत्काल अस्पताल पुर्याउन सके उपचार सम्भव हुने उनको भनाइ छ।
‘बिरामीहरूका आफन्तहरूसँग कुरा गर्दा पहिला धामी झाँक्रीकोमा लाने गरेको र केही सिप नलागेपछि मात्र अस्पताल लाने गरेकाले समयमा उपचार नपाउँदा अपांग वा मृत्युसम्म हुने गरेको देखिएको छ। त्यसैले तुरून्तै अस्पताल लान सके मृत्युदर कम हुन सक्छ’ , उनले भने।
स्वास्थ्य मन्त्रालयले नेपालका जिल्ला अस्पतालहरूलाई यो रोगको उपचार गर्न र रेकर्ड राख्न निर्देशिका जारीसमेत गरेको छ।
जापानिज इन्सेफ्लाइटिसविरूद्ध खोप लगाएका एकाध व्यक्तिमा यो संक्रमण देखिए पनि मृत्यु भने शून्य रहेको उनले बताए। नेपालका सबै नागरिकलाई यो रोगविरूद्ध खोप लगाउने अभियान चलाउनुपर्ने उनको सुझाव छ।
‘नेपालका सबै नागरिकलाई जापानिज इन्सेफ्लाइटिसको खोप एक पटक दिन पाए अर्को वर्षदेखि यसको समस्या आउँदैन,’ उनले भने, ‘यसो गर्न सके अत्याधिक प्राणघातक देखिएको यो रोगका कारण कसैले पनि मृत्युवरण गर्नुपर्दैन।’