नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई व्यापक सुधार गरिने बताएका छन्।
भदौमा हुने १५ औं महाधिवेशनबाट पार्टीलाई व्यापक सुधार गरिने उनको भनाइ छ।
‘पार्टीलाई व्यापक सुधार गर्छौं। त्यसको यात्रा प्रारम्भ भयो, यो अधिवेशन मात्र होइन, पार्टीलाई सुधार गर्ने हो,’ आज केन्द्रीय समिति बैठकमा बोल्दै सभापति थापाले भने, ‘शुद्धीकरण, सुदृढीकरण र पार्टीको पुनर्जागरणको अभियान हो यो।’
नौजवानले भरोसा र विश्वास गर्ने पार्टी बनाउने पनि उनले बताए।
१५ औं महाधिवेशनतर्फको यात्रामा केन्द्रीय समितिको ठूलो जिम्मेवारी रहेको पनि उनको भनाइ छ।
उनले विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका सबै अब महाधिवेशनतर्फ केन्द्रित हुनुपर्ने बताए।
‘हामी सबैको अर्जुनदृष्टि अधिवेशनमा लाग्नुपर्नेछ, भदौभित्र महाधिवेशन गरिसक्नुपर्छ,’ उनले भने, ‘म यो समितिमा नहुनु भएको बाहिरका साथीहरूलाई पनि अपिल गर्न चाहन्छु- एउटा विशिष्ट अवस्थामा विशेष महाधिवेशन भयो। त्यो विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आयो, चुनावमा भाग लियौं। अब हामी नियमित महाधिवेशनतर्फ जाँदैछौं। को विशेष महाधिवेशनमा भाग लियो वा लिएन भन्ने सकियो अब।’
उनले विशेष महाधिवेशनमा भाग नलिएकाहरूमाथि कुनै पूर्वाग्रह नराखिने पनि बताएका छन्।
गत पुसमा तत्कालीन महामन्त्री थापा र विश्वप्रकाश शर्माको सहभागितामा विशेष महाधिवेशन भएको थियो। उक्त महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवासहित उनी पक्षका नेता कार्यकर्ता उपस्थित भएका थिएनन्।
विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको विरोधमा देउवा पक्ष सर्वोच्च अदालत गएकोमा मुद्दा विचाराधीन छ।
यो पनि: सभापति थापाले कांग्रेस केन्द्रीय समितिमा प्रस्तुत गरे १५ औं महाधिवेशन कार्यतालिका