नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरू पनि सहभागी भएका छन्।
आज सानेपामा बसेको बैठकमा कोशी, मधेस, बागमतीका प्रदेश सभापतिहरू बोलेका छन्। गण्डकी र लुम्बिनी प्रदेशका सभापतिहरू यसअघिका बैठक र विशेष महाधिवेशनमा पनि सहभागी भएका थिए।
आजको बैठकमा बागमती प्रदेशका सभापतिसमेत रहेका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले धारणा राखेका छन्।
‘विशेष महाधिवेशनमा हामी विपक्षमा थियौं होला तर फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशशरण महत, मीनेन्द्र रिजाल, किशोरसिंह राठौर जस्ता नेताहरूलाई कुनै कन्जुस्याइँ नगरी नयाँ नेतृत्वले टिकट दिएको थियो l अब चुनावपछि विवादमा गरिरहन जरूरी छैन,’ बानियाँको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने।
साथै उनले सभापति गगन थापाले अर्को पक्षसँग संवाद गरेर अदालतमा रहेको मुद्दा फिर्ता लिने वातावरण बनाउनुपर्ने पनि उनले बताएका थिए।
‘सभापतिज्यूले अर्को पक्षसँग कुरा गरेर अदालतको मुद्दा पनि फिर्ता लिनेे वातावरण बनाएर, सबै १५ औं महाधिवेशनतिर एक भएर लागौं। अब नयाँ सभापतिको काँधमा पार्टी आएको छ, सबैले सघाउन र साथ दिन जरुरी छ,’ उनले भने।
मधेस प्रदेशका सभापतिसमेत रहेका मधेसका मुख्यमन्त्री कृष्ण यादवले सभापति थापा उत्साहका साथ अघि बढ्नुपर्नेमा जोड दिए।
‘जुन उत्साह साथ विशेष महाधिवेशन भयो, त्यही उत्साह राखेर सभापति अघि बढ्नोस्l तपाईंको साथमा पुरै मधेस प्रदेश उभिनेछl म दृढताका साथमा तपाईंसँग उभिनेछु,’ उनका भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘पार्टीलाई नयाँ परिस्थितिमा लग्ने हो भने, १५ औंमहाधिवेशनतर्फ सबै एकढिक्का भएर उभिनुपर्छl’
कोशी प्रदेशका सभापतिसमेत रहेका पूर्वमुख्यमन्त्री उद्धव थापाले महाधिवेशनतर्फ केन्द्रित हुनुपर्ने बताए।
‘पार्टीभित्र विवाद हुनु अनौठो होइन, तर अब नयाँ नेतृत्वको बारेमा विवाद गरेर समय खेर फाल्नु गलत हुन्छ l हामी सबै थरी एक भएर नियमित महाधिवेशन तर्फ लागौं,’ उनले भने। उनी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको यसअघिको केन्द्रीय कार्यसमिति बैठकमा पनि सहभागी भएका थिए।
गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा र लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुन मगरले महाधिवेशनतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
कर्णाली र सुदूरपश्चिम प्रदेश सभापतिहरू भने विशेष महाधिवेशनपछिका केन्द्रीय समिति बैठकमा सहभागी भएका छैनन्।