इरानसँग युद्ध जारी रहँदा अमेरिकाले मध्यपूर्वमा ठूलो संख्यामा सेना पठाउने तयारी गरेको छ।
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले इरान नजिक मध्यपूर्वी क्षेत्रमा तैनाथ गर्ने गरी ठूलो संख्यामा एयरबोर्न सैनिक पठाउने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
अमेरिकी अखबार द न्यूयोर्क टाइम्सका अनुसार पेन्टागनले ८२ औं एयरबोर्न डिभिजन अन्तर्गतका २ हजार बढी सैनिकहरू मध्यपूर्व पठाउने तयारी गरेको छ।
एयरबोर्न सैनिकहरु (प्याराट्रुपर) युद्ध क्षेत्रमा छिटो प्रतिक्रिया दिन सक्ने (इमिडियट रेस्पोन्स फोर्स) विशेष बल हो। यस्ता सैनिकहरु प्यारासुटबाट सिधै युद्ध क्षेत्रमा उतारिन्छ।
यसले सुरूवात आक्रमणको नेतृत्व गर्छ भने मुख्य सेनाका लागि बाटो खोल्ने काम गर्छ। विशेषगरी सरप्राइज आक्रमणका लागि पनि यस्ता सेना प्रयोग गरिन्छ।
'यी सैनिकहरू राष्ट्रपति डोनाल्ड ट्रम्पलाई थप सैन्य विकल्प उपलब्ध गराउने उद्देश्यले पठाइँदैछन्,' पेन्टागनका एक अधिकारीले टाइम्ससँग भनेका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था एशोसिएट प्रेस (एपी)ले १ हजारभन्दा बढी सैनिक छिट्टै मध्यपूर्व पठाउने अमेरिकाको तयारी रहेको उल्लेख गरेको छ।
'उक्त बलमा पहिलो ब्रिगेड कम्ब्याट टिमको एक बटालियनसहित डिभिजन कमाण्डर मेजर जनरल ब्रान्डन टेग्टमियर र उनको स्टाफ पनि सहभागी हुनेछन्,' पेन्टागनकै अर्का अधिकारीले एपीसँग भनेका छन्।
अर्को अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले भने मध्यपूर्वमा ३ देखि ४ हजार प्याराट्रुपर पठाउने तयारी रहेको भनेर ह्वाइट हाउसलाई उद्धृत गरेर समाचार लेखेको छ।
'राष्ट्रपति ट्रम्पसँग सधैँ सबै किसिमका सैन्य शक्ति परिचालन गर्ने विकल्पहरू उपलब्ध हुन्छ,' ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले रोयटर्ससँग भनेकी छन्।
रिपोर्टहरूले अमेरिकाले यसअघि नै हजारौं मरिन सैनिकहरू मध्यपूर्वमा पठाइसकेको बताएका छन्। करिब ४ हजार ५०० मरिनसहित हालसम्म झन्डै ७ हजार अतिरिक्त अमेरिकी स्थलसेना मध्यपूर्वमा परिचालित छन् भनेर न्यूयोर्क टाइम्सले लेखेको छ।
सम्भावित रूपमा इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापु नियन्त्रणमा लिन वा हर्मुज समुद्री मार्ग सुरक्षित बनाउन प्रयोग गर्न सकिने आकलन गरिएको छ।
रोयटर्सका अनुसार अमेरिकी प्रशासनले इरानभित्र स्थलसेना पठाउने अन्तिम निर्णय भने गरिसकेको छैन। तर यस्तो तैनाथीले भविष्यका सैन्य कारबाहीका लागि क्षमता विस्तार गर्नेछ।
फेब्रुअरी अन्त्यदेखि सुरु भएको अमेरिका–इरान युद्ध चौथो सातामा प्रवेश गरिसकेको छ।
लगातारको सैन्य तैनाथी र आक्रमणले क्षेत्रीय तनाव झन् बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यो पनिः के अमेरिका–इरान युद्ध रोकिन लागेको हो?