भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले चार जना सैनिक अधिकारीहरूलाई कारबाही गर्न सिफारिस गरेको छ।
सुरक्षाको लागि नेपाली सेनाको तर्फबाट खटिएको चार स्थलहरूको कमाण्ड सम्हालेका सैनिक अधिकारीलाई कारबाही गर्न आयोगले भनेको हो।
राष्ट्रपति भवन शीतल निवासमा सुरक्षाको लागि नेपाली सेनाको तर्फबाट खटिएको सुरक्षा टोलीको प्रमुख सहायक रथी मनोज बैदवारलाई कारबाही गर्न आयोगले सिफारिस गरेको छ।
त्यस्तै प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षाको लागि नेपाली सेनाको तर्फबाट खटिएको सुरक्षा टोलीको प्रमुख, प्रमुख सेनानी दिवाकर खड्कालाई पनि कारबाही गर्न आयोगले भनेको छ।
सिंहदरबार सचिवालयमा सुरक्षाको लागि खटिएका सुरक्षा टोलीको प्रमुख रहेका प्रमुख सेनानी गणेश खड्कालाई कारबाही गर्न भनिएको छ। उनी जिल्ला सुरक्षा समितिको सदस्य समेत रहेका थिए।
संसद भवन, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भवन परिसर बानेश्वरमा सुरक्षाको लागि नेपाली सेनाको तर्फबाट खटिएको सुरक्षा टोलीको प्रमुख सेनानी सन्तोष ढुंगेललाई पनि कारबाही गर्न आयोगले सिफारिस गरेको छ।
‘माथि उल्लेखित चार स्थलहरूको सुरक्षा गर्न नसकेकोमा ती परिसरमा सुरक्षाको लागि खटिएका नेपाली सेनाका कमाण्डरहरू उपर कानूनी कारबाहीको लागि सैनिक ऐन, २०६३ को दफा १०५ आकर्षित हुन आउने देखिन आयो,’ प्रतिवेदनमा भनिएको छ।