भदौ २३ र २४ गतेको घटनासम्बन्धी पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्षतामा गठित जाँचबुझ आयोगको प्रतिवेदनमा भ्रामक प्रचार गर्नेहरूको नाम पनि किटान गरिएको छ।
कार्की आयोगले प्रतिवेदन सरकारलाई बुझाए पनि सरकारले सार्वजनिक गरेको छैन। तर प्रतिवेदन बाहिरिएको छ।
आयोगको प्रतिवेदनअनुसार जेनजी आन्दोलनमा भ्रामक प्रचार गर्नेहरू कलाकारदेखि सोसल मिडिया इन्फ्लुन्सरसम्म छन्।
‘भ्रामक प्रचारहरू जस्तै २३ गतेको घटनामा चुच्चेपाटीस्थित भाटभटेनी मा ३५ शवको कंकाल भेटिएको भनी प्रचार गरियो। त्यस्तै ३२ जना हराइरहेका प्रदर्शनकारी बानेश्वर संसद भवनभित्र मृत अवस्थामा भेटिए भनी २४ गते प्रचार गरियो,’ जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ, ‘यस्तो प्रचार गर्नमा सोसल मिडिया इन्फ्लुन्सर टंक ढकाल, सुजन ढकाल, शिव परियार, हिमेश पन्त र भाग्य न्यौपाने जस्ता व्यक्तिहरु संलग्न रहेको पाइन्छ।’
साथै एक विमान परिचारिकाले हिमालयन एयरलाइन्सबाट तत्कालीन प्रधानमन्त्री केपी ओली भागेर दुबई पुगेको र उनले आफै देखेको भ्रामक प्रचार गरेको प्रतिवेदनमा उल्लेख छ।
‘हिमालय एयरलाइन्सले यसको खण्डन गरी प्रेस वक्तव्य नै जारी गर्नुपर्यो। त्यस्तै एउटा अर्को मिडियामा नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई भिडले घिसारेर पिटिरहेको प्रचार गर्यो, त्यो गलत प्रचार थियो। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भिडबाट बच्न नदीमा भागिरहेका र केही व्यक्तिहरूले उनलाई पिटिरहेको दृष्य भिडियोमा देखाइएको थियो,’ प्रतिवेदनमा भनिएको छ।
त्यस्तै पूर्व राजालाई स्वागत गर्न र फेरि राजा बनाउन नारायणहिटी दरबार सफा गरिँदैछ भन्ने समाचार पनि सामाजिक सञ्जालमा प्रेषित गरिएको पाइएको प्रतिवेदनमा उल्लेख छ।
यस्तै पत्रकार दिलभूषण पाठकले हिल्टन होटलसम्बन्धी बनाएको समाचारको विषय पनि प्रतिवेदनमा समावेश छ।
‘पत्रकार दिलभूषण पाठकले केही समयअघि हिल्टन होटलमा शेरबहादुर र आरजु देउवाका छोरा जयवीर सिं देउवाको लगानी छ भनी तथ्यहीन प्रचार गर्दा हिल्टन होटल जल्न गएको छ। यसले नेपालमा वैदेशिक लगानी निरुत्साहित हुन गै ठूलो क्षति हुन पुगेको छ,’ प्रतिवेदनमा उल्लेख छ।