तत्कालीन काठमाडौं जिल्ला प्रमुख (सिडिओ) अधिकारी छविलाल रिजालले आफूले सिधै गोली चलाउन आदेश नदिएको बताएका छन्।
आफूले घुँडाभन्दा तल लक्षित गरी रबरको गोली चलाउने मौखिक आदेश दिएको भए पनि अन्तिम बल अर्थात सिधै गोली चलाउने आदेश नदिएको बयान उनले जाँचबुझ आयोगलाई दिएका छन्।
'कर्फ्यु जारी हुँदा भीड बढ्दै गए पनि सुरक्षाकर्मीलाई धैर्य नछोड्न भनिरहेको थिएँ। साथै हतास नहुन निर्देशन दिँदै, भीड हटाउँदा न्यूनतम बल प्रयोग गर्ने, बाल अधिकार र मानव अधिकारको ख्याल गर्ने र सुझबुझ नछोड्न निरन्तर निर्देशन दिएको थिएँ,' उनले बयानमा भनेका छन्।
तनावपूर्ण परिस्थितका कारण संसद भवन वरिपरि कति संख्यामा प्रदर्शनकारी थिए, कति बल प्रयोग भयो कति घाइते भए भन्ने यकिन विवरण समयमै प्राप्त हुन नसकेको बताए। तर आक्रमणकारीहरूले हेलमेट लगाएर ढुंगा, इँटा, हतौडा, घन, रङ, छिनो र गुलेली जस्ता सामग्री लिएर आएको रिपोर्टहरू आउन प्राप्त भयो।
त्यसपछि मात्र संसद भवन परिसरभित्र मात्र गोली प्रहार भएको जानकारी प्राप्त भएको उनले बयानमा बताएका छन्।
'सवा २ बजेतिर एक प्रर्दशनकारीको मृत्यु भएको जानकारी पाएँको थिएँ,' उनले बयानमा भनेका छन्, 'तोडफोड नियन्त्रणमा नआएपछि न्यूनतम बल प्रयोग गर्न निर्देशन दिएको र अन्तिम विकल्पका रूपमा मात्र घुँडाभन्दा तल लक्षित गरी रबरको गोलीसम्म चलाउन आदेश दिएको हुँ।'