भदौ २३ गते भएको जेनजी आन्दोलनको क्रममा टिबेटियन ओरिजिनल ब्लड (टिओबी) समूहको प्रवेशपछि भीड थप उत्तेजित भएको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ।
भदौ २३ र २४ को जेनजी आन्दोलनमा भएका मानवीय तथा भौतिक संरचनामा भएको क्षतिबारे पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको छानबिन आयोगले आफ्नो प्रतिवेदनमा यस्तो उल्लेख गरेको हो।
मोटरसाइकलमा सवार टिओबी समूह भदौ २३ गते मध्याह्न १२ बजे बानेश्वरमा प्रदर्शनरत भीडमा प्रवेश गरेपछि भीड थप उत्तेजित भएको आयोगको ठहर छ।
उक्त समूहले चाबहिल ओम अस्पताल धोबिखोला करिडोर, गौशाला लगायत विभिन्न क्षेत्रबाट करिब एक सय वटा मोटरसाइकल सवार गरी बानेश्वरतर्फ अघि बढेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा उल्लेख भए अनुसार बानेश्वर बिजुलीबजार तिर पुगेको समूहले मोटरसाइकल 'पड्काउँदै' त्यहाँ पुगेपछि भीड उक्सिएको हो।
'फलस्वरूप भीड झन् उग्र भई, प्रहरीलाई धक्कामुक्का गर्दै, पानीको बोतल, ढुंगा, रड, इँटा, गुलेली आदिबाट प्रहार गर्दै पश्चिम गेट तर्फबाट संघीय संसद भवन परिसर भित्र छिर्ने कोसिस गरेको देखिन्छ,' प्रतिवेदनमा भनिएको छ।
प्रहरीले माइकिङ गरेर सम्झाउँदा पनि नियन्त्रण नभएपछि बल प्रयोग गरेको भन्ने डिएसपी सुन्दर तिवारीसहित अन्य प्रहरीको भनाइ पनि प्रतिवेदनमा उल्लेख छ।
केही समयअघि प्रहरीले टिओबीका तेन्जीन दावा लामालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।