भदौ २४ गते प्रहरीमाथि आक्रमण हुँदा ज्यान जोगाउन मद्दत गरेका दुई जना नागरिकलाई पुरस्कृत गर्न जाँचबुझ आयोगले सिफारिस गरेको छ।
आयोगको प्रतिवेदनमा केही प्रहरी अधिकारी, केही कर्मचारीलाई पुरस्कृत गर्ने सँगसँगै दुई नागरिकलाई समेत पुरस्कृत गर्न सिफारिस गरेको हो।
कोटेश्वरस्थित होटल स्वर्णिम एण्ड गेष्ट हाउसका शिवराम बाँडा र कोटेश्वरमै घडी पसल सञ्चालक गिताकुमारी साहलाई पुरस्कृत गर्न सिफारिस गरेको हो।
भदौ २४ गते कोटेश्वर प्रहरी प्रभागमा तोडफोड र आगजनी भएपछि प्रहरी कर्मचारीहरूमाथि कुटपिट भएको थियो।
इँटा, ढुंगा, धारिलो हतियार समेतले प्रहार गरी घाइते बनाएको अवस्थामा प्रहरी कर्मचारीहरू अर्धनग्न अवस्थामा भागेर होटल स्वर्णिममा पुगेका थिए।
त्यहाँ रहेका रामेछाप घर भई कोटेश्वरमा बस्दै आएका बाँडाले होटलको कौसीबाट उनीहरूलाई प्रवेश गराएका थिए।
होटलमा प्रवेश गराई प्रहरी कर्मचारीहरूलाई विभिन्न कोठामा लुकाएका थिए। मूल ढोका र कौसीको ढोकामा ताला लगाएपछि प्रहरी कर्मचारीहरूलाई खाना खुवाएर कपडा समेत खरिद गरी दिएर ज्यान बचाएको भन्दै उनलाई पुरस्कृत गर्न सिफारिस गरेको हो।
त्यसैगरी गिताकुमारीले पनि प्रहरी हवल्दार चिजकुमार कुमाललाई जोगाएका थिए।
उनलाई चारैतिरबाट घेरा हालेर हतियार, ढुंगा, लाठीले प्रहार गरेको देखेपछि सप्तरीकी गिताकुमारीले त्यहाँ गएर प्रदर्शनकारीलाई रोकेकी थिइन्।
रोक्न जाँदा उनलाई प्रदर्शनकारीले आगो पेट्रोल जस्तो तरल पदार्थले प्रहार गरेका थिए। त्यस क्रममा उनको जिउमा आगोले जलेर घाइते समेत भएकी थिइन्।
आफ्नो ज्यानको बाजी लगाएर प्रहरी हवल्दारको ज्यान जोगाएको भन्दै उनलाई पनि पुरस्कृत गर्न सिफारिस गरेको छ।
प्रहरी कार्यालय र हतियार बचाउने प्रहरीलाई पनि पुरस्कृत गर्न सिफारिस
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालय र हतियार जोगाउने प्रहरी कर्मचारीहरूलाई पनि पुरस्कृत गर्न आयोगले सिफारिस गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादुर बस्नेत, कालिमाटी वृत्तका डिएसपी मधु थापा, मालिगाउँ वृत्तका डिएसपी सुनिल शाह, प्रहरी प्रशिक्षण प्रतिष्ठानकी डिएसपी चिनिमाया तामाङ, जनसेवा वृत्तका कृष्णकुमार चन्द र ठिमी वृत्तका डिएसपी नवराज ढुंगानालाई पुरस्कृत गर्न सिफारिस गरेको छ।
त्यस्तै जाँचबुझ आयोगसँग काम गरेका प्रहरी एवं कर्मचारीहरूलाई पनि पुरस्कृत गर्न सिफारिस गरेको छ।