नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन र भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भएको बताएका छन्।
महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने हुनसक्ने बताएका छन्।
‘कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको छ। कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानुनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट छ। सोही अनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको छ,’ उनले भनेका छन्।
अल्गोरिदमको प्रयोगवाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणवाट नयाँ शक्तिको उदय भएको उनको दाबी छ।
‘अबको बाटो सजिलो नहुन सक्छ—राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिन्छ। यस्तो अवस्थामा, नयाँ शक्ति र नेतृत्वलाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्यांकन गर्न दिनु नै सम्भवतः विवेकपूर्ण कदम हुन सक्छ। तर पनि सत्य कुरा के हो भने लोकप्रितावाद, अराजकतावाद र अवसरवाद आजका चुनौतीहरूको समाधानको बाटो होइन र विचारधारात्मक राजनीतिको दिर्घकालीन विकल्प पनि होइन,’ उनको भनाइ छ।