नेपाली कांग्रेसले 'लिडरसिप एकेडेमी' स्थापना गर्ने निर्णय गरेको छ।
सभापति गगन थापाको अध्यक्षतामा बुधबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले 'कांग्रेस लिडरसिप एकेडेमी' स्थापना गर्ने निर्णय गरेको हो।
पार्टीले आन्तरिक र सार्वजनिक नेतृत्व विकासका लागि निश्चित पाठ्यक्रम तयार गरी कक्षा सञ्चालन गर्नेछ।
यो एकेडेमी केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत रहनेछ।
कांग्रेसको इतिहास, आदर्श, विचार, ध्येय लगायत पार्टीको आर्थिक नीति, विकास नीति, सामाजिक नीतिका विषयमा पार्टी सदस्यलाई प्रशिक्षित गर्ने तयारी छ।
पार्टीमा क्रियाशील रहेका र नवीकरण हुने सदस्यलाई पार्टीको नीति, कार्यक्रम र प्राथमिकता र अद्यावधिक नीतिगत विषयबारे पुनर्ताजगी तालिम प्रदान गर्ने काम पनि एकेडेमीको हुनेछ।
पार्टीको तर्फबाट निर्वाचित स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधिलाई अनुशिक्षण गर्ने र पाठ्यक्रम तयार गरी पार्टीको तर्फबाट जनप्रतिनिधि बन्ने आकांक्षा राख्ने वा स्थानीय, प्रदेश र संघीय सरकारमा कार्यकारी भूमिकामा जिम्मेवारी लिन चाहने व्यक्तिहरूलाई उक्त जिम्मेवारीसँग जोडिएको आधारभूत तथा विषयगत ज्ञान, सीप र नेतृत्व विकासका लागि कक्षा सञ्चालन गर्ने तयारी छ।
‘सार्वजनिक जिम्मेवारीमा जान चाहने व्यक्तिले निर्वाचनभन्दा तीन महिना अगाडि पब्लिक पोलिसी कक्षा अनिवार्य लिनुपर्ने छ,’ केन्द्रीय समितिले गरेको निर्णयमा उल्लेख छ, ‘कांग्रेस लिडरसिप एकेडेमीमार्फत निश्चित कक्षा पूरा गरे नगरेको आधारलाई पार्टीको उम्मेदवारी छनोट र जिम्मेवारीसँग जोडिनेछ।’