नेपाली कांग्रेसले स्थानीय र प्रदेश सरकारहरूले गरेका कामको समीक्षा गर्ने भएको छ।
पार्टीका तर्फबाट उम्मेदवार भई जितेका स्थानीय तथा प्रदेश सरकारका कामकारबाहीबारे कांग्रेसले समीक्षा गर्न लागेको हो।
उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा स्थानीय र प्रदेश सरकारको कामबारे समीक्षा, समन्वय र थप प्रभावकारिता बारेमा अध्यययन हुने भएको हो।
बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले स्थानीय र प्रदेश सरकारको कामबारे समीक्षा गर्ने निर्णय गरेको हो।
‘प्रदेश संसदीय दल, प्रदेश सरकार र स्थानीय तहमा पार्टीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूको भूमिकाको समीक्षा, समन्वय र थप प्रभावकारीताका लागि आवश्यक संयोजनको जिम्मेवारी उपसभापति विश्वप्रकाश शर्मालाई प्रदान गर्ने निर्णय भएको छ,’ केन्द्रीय समितिको निर्णयमा उल्लेख छ।
एक समिति गठन गरी प्रदेश सरकारमा निरन्तर रहने वा नरहने या विगतका सहमति कार्यान्वयनका सम्बन्धमा के-कस्तो दृष्टिकोण निर्माण गर्नेसमेत अध्ययन हुनेछ।
‘प्रदेश सरकार संरचना र सुशासन लगायतका लागि प्रदेश सभापति सहितको सहभागितामा आवश्यक अध्ययन, परामर्श र प्रस्ताव समेत उहाँकै संयोजकत्वको एक अलग समिति निर्माण गरेर टुङ्गोमा पुग्ने निर्णय यो बैठक निर्णय गर्दछ,’ निर्णयमा उल्लेख छ।
कांग्रेस नेतृत्वमा अहिले मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम सरकार छ।