नेकपा एमालेले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको बैठक आह्वान गरेको छ।
बिहीबार सांसदहरूको शपथपछि दिउँसो ३ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा राष्ट्रिय सभाका सांसद सहितको बैठक बोलाइएको सचिव पद्मा अर्यालले जानकारी दिइन्।
प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको शपथ बिहीबार दिउँसो दुई बजे सिंहदरबारमा हुँदैछ।
‘आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा दुवै सदनका सांसदहरूलाई बोलाइएको छ। अध्यक्ष केपी शर्मा ओलीले दिर्नेशन दिने कार्यसूची रहेको छ,’ उनले भनिन्।
एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले पनि अध्यक्ष ओलीले निर्देशन दिने कार्यसूची रहेको बताए।
‘प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैतर्फ नयाँ सांसद निर्वाचित भएर आउनुभएको छ। पार्टीका तर्फबाट केही निर्देशन जरूरी हुन्छ,’ उनले भने।
प्रतिनिधि सभाको दल नेता चयन गर्ने कार्यसूची रहे नरहेको बारे आफू अनभिज्ञ रहेको उनले बताए।
प्रतिनिधि सभामा एमालेका २५ सांसद छन्। पार्टीका पहिलो वरीयताका उपाध्यक्ष रामबहादुर थापा बादल प्रतिनिधि सभा सदस्य निर्वाचित छन्। उनैलाई दल नेता बनाउने चाहना अध्यक्ष ओलीको छ। तर युवालाई दल नेता बनाउनुपर्ने आवाज पनि उत्तिकै उठेको छ।